उदयपुर ।  उदयपुरको सदरमुकाम गाईघाट आसपासमा विद्युत सर्ट भई आगलागी हुँदा ६० लाख बढीको क्षति भएको छ । त्रियुगा नगरपालिका ११ गाईघाटमा बज्रसिंह बस्नेतको घरमा विद्युत सर्ट भई आगलागी हुँदा ६० लाख बढीको क्षती भएको हो । मंगलबार राती करिब १ बजे विद्युत सर्ट भई एक्कासी दुई तले घरमा आगो लागेको प्रहरीले जनाएको छ । घरको तल्लो तलाको सटर भाडामा लिएर अर्जुन साहले संचालन गर्दे आएको युडी स्टोर्स, किचन घर र सरसामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल न. ५ गण गाईघाटबाट खटेका संयुक्त प्रहरी टोलीले रातको करिब १ः३० बजे आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । कुनै मानविय क्षती नभएको प्रहरीले जनाएको छ ।

यस्तै कात्तिक १० गते त्रियुगा नगरपालिका ११ स्थित विपी चौक नजिक सिताराम कार्कीको घर तथा कृषि विकास बैंक भएको पुरानो घरमा रहेको कपडा पसलमा विद्युत सर्ट भई आगलागी हुँदा ७० लाख बढीको क्षति  भएको थियो । कपडा पसलमा झापा जिल्लाका सिवसतासी नगरपालिका ३ का खेम नेपाल, झापा कमला गाउँपालिका ४ का नारायण पाण्डे र त्रियुगा नगरपालिका २ खैजनपुरका मोहन कार्कीको संयुक्त लगानीमा संचालनमा थियो ।
यस्तै कात्तिक १३ गते त्रियुगा नगरपालिका ३ मोतिगडामा पनि विद्युत सर्ट भई एक चर्च भवन सहित दुई घरमा आगलागी  भएको थियो । चर्चको भवन, दानबहादुर परियार र मनकुमारी राईको घरमा आगलागी हुँदा करिव ७ लाख बराबरको क्षति भएको थियो ।

तपाईको प्रतिक्रिया