मकवानपुर । पूर्वी मकवानपुरको बकैया गाउँपालिका ६ जुईनाका माझीहरुले आफ्नो महान् पर्व लदी अर्थात् कोसी पर्व मनाएका छन् ।
माझी बस्ती जुईना नजिकैको बकैया, सिमात, हर्दिया र जुईना खोलाको दोभानमा मौलिक पोशाकमा भेला भएर उनीहरुले खोलालाई सामुहिक पुजा गरे । चार खोलाको संगममा उनीहरुले खोलालाई बोका, पाठी, कुखुरा र परेवाको बली समेत दिएर पुजा गरेका थिए ।
नेपाल माझी उत्थान संघ मकवानपुरले कोसी पर्वको अवसरमा सामुहिक पुजा तथा बिशेष सांस्कृतिक कार्यक्रम समेत आयोजना गरेको थियो ।
कार्यक्रम बकैया गाउँपालिकाका अध्यक्ष दामोदर खनालको प्रमुख आतिथ्य तथा माझी उत्थान संघ मकवानपुरका अध्यक्ष आषिश माझीको अध्यक्षतामा भएको थियो । कार्यक्रममा बकैया गाउँपालिकाकी उपाध्यक्ष सरला बोलखे, माझी अगुवा लक्ष्मी माझीको बिशेष आतिथ्य रहेको थियो ।
कार्यक्रममा बकैया गाउँपालिकाका ६ नम्बर वडा अध्यक्ष फूलमान भोम्जन, ४ नम्बर वडा अध्यक्ष राजन दंगाल, नेपाल कम्यूनिष्ट पार्टी(नेकपा)का स्थानीय नेता मोतीलाल सिंगारा, माझी मुक्ती मोर्चाका केन्द्रीय सदस्य कृष्णबहादुर माझी, तामाङ अगुवा निरु थिङ लगायतको आतिथ्य रहेको थियो ।
सांस्कृतिक कार्यक्रममा गायक–गायिकाहरु प्रतीक ब्लोन, पवित्रा माझी, संगम राई, लोकेन्द्र माझी लगायतले गित प्रस्तुत गरेका थिए भने जुईना समूह, जुरेली समूहले नृत्य प्रस्तुत गरेको थियो । कार्यक्रममा माझी उत्थान संघले माझी समुदायको उत्थान र अधिकारका लागि योगदान पु¥याएको भन्दै पत्रकारहरु अशोकसुजन श्रेष्ठ, कृष्ण सारु मगर र माझी अगुवा लक्ष्मी माझी लगायतलाई प्रसंशापत्र प्रदान गरेको थियो ।
माझी समुदायले कोसी पर्वलाई राष्ट्रिय पर्वको मान्यता र सार्वजनिक विदा दिन माग गर्दै आएको छ । लोप हुँदै गएको कोशी पर्व नेपाल माझी उत्थान संघले वि.सं. २०५५ मा सिन्धुलीको तत्कालिन कोपिलाकोट गाविसस्थित मरिन खोलामा पुजा गरेर पुनः सुरु गरेको बताईन्छ । २०६८ सालको जनगणना अनुसार नेपालमा माझीहरुको जनसंख्या ८३ हजार सात सय २७ रहेको छ ।
कोशी पर्वको अवसरमा पूर्वी मकवानपुरको बकैया र बागमती गाउँपालिकाले मंगलबार सार्वजनिक बिदा समेत दिएको छ । मकवानपुरमा करिब ११ हजार जना माझी रहेकोमा बकैयामा मात्र करिब छ हजार माझी समुदायको बसोबास छ ।
आफ्नो छुट्टै लिपी नभएको माझी समुदायको २०६८ सालको जनगणना अनुसार नेपालका ५८ जिल्लामा बसोबास छ । ओखलढुङ्गा, काभ्रे, रामेछाप, खोटाङ, दोलखा र सिन्धुपाल्चोकको भैंसे गाउँका माझी समुदायले मात्र मातृभाषा बोल्ने अनुमान छ ।

यो पनि पढ्नु होस्

माझि समुदायकोे कोशी पुजा धुमधामका साथ सम्पन्न (फोटो फिचर)

तपाईको प्रतिक्रिया