उदयपुर, कुनै बेला सडकको छेउमा बसेर सवारी साधनहरुबाट राजश्व संकलनलाई तिव्रता दिएको उदयपुर ट्राफिक अहिले सडकमा हुने दुर्घटनालाई कम गर्ने उद्देश्यले उदयपुर जिल्ला भित्र रहेका सरकारी तथा निजी विद्यालयहरुमा ट्राफिक सचेतना सम्वन्धी कार्यक्रमहरु संचालन गरेको छ ।
ट्राफिक प्रहरीले उदयपुरमा उदहरणीय कार्य गर्दै आएको छ । यस अघि ट्राफिकले ट्राफिकलाई लाग्ने गरेको आरोप कम गर्न स्थानीय नागरिक, समाजसेवीहरु, पत्रकार र सवारी साधनका मालिकहरु लगायतको विचमा ट्राफिक चेकिङ् गर्दै आएको थियो ।
जिल्ला ट्राफिक कार्यालय उदयपुरले विद्यार्थीहरुको माझमा गएर ट्राफिक नियम सम्बन्धी पोष्टर पम्प्लेट र भिडीयो मार्फत विद्यार्थीहरुलाई सचेत गराउदै आएको छ ।
अहिले विद्यार्थीहरुको विचमा हुने सचेतना कार्यक्रममा ट्राफिक प्रहरीले ट्राफिक नियम कसरी पालना गर्ने, सडक दुर्घटना कसरी कम गर्न सकिन्छ र पछिल्लो समयमा सवारी दुर्घटना हुनुका प्रमुख कारणहरु जानकारी गराउँदै आएको छ ।
“ट्राफिक नियमको पालना गरौं, दुर्घटना घटाऔं, मान्छे बचाउँ ” भन्ने मुल नारासहित त्रियुगा नगरपालिका ९ राजाबासको ककनी मोडल स्कूलका विद्यार्थीहरुलाई ओरेक नेपालको भवनमा ट्राफिक नियम सम्बन्धि प्रशिक्षण गरिएको थियो ।
ककनी मोडेल स्कुलको आयेजना र जिल्ला ट्राफिक कार्यलय उदयपुरको समन्वयमा उक्त सचेतनामूलक कार्यक्रम संचालन भएको हो । त्रियुगा नगरपालिका वडा नंं. ९ को बस्ति हुँदै मदन भण्डारी राजमार्गको निर्माणसगै दुर्घटनाको जोखिम बढ्ने कुरालाई मध्यनजर गर्दै ककनी मोडेल स्कुलका विद्यार्थी, शिक्षक, अभिभाबकलाई ट्राफिक नियम सम्बन्धि एक दिने अनुशिक्षण कार्यक्रमको आयोजना गरिएको ककनी मोडेल स्कुलका सञ्चालक तथा प्रवन्ध निर्देशक केदार दनुवारले बताए ।
सडक दुर्घटना हुनुको मुख्य कारणहरुमा चालकको लापरबाही मात्र नभई पैदय यात्रुहरुको पनि दोस भएकाले यसलाई न्यूनिकरण गर्न सचेतना अभियान संचालन गरिएको ट्राफिक प्रहरी हबल्दार भेषबहादुर थापाले बताए । उनले पैदल यात्रुहरु अनुशासित नहुनु, असावधानी नअपनाउनु र गर्नु, हेलचेक्राई, ट्राफिक नियम सम्बन्धि ज्ञानको कमिले गर्दा सडक दुर्घटना हुने गरेको बताए । उनले सडक सुरक्षाको बारेमा जानकारी दिनुको साथै बाटो काट्ने तरिका, सवारी साधन चढ्दा र ओराल्दा ध्यान दिनु पर्ने कुराको बारेमा जानकारी गराएका थिए ।
‘पछिल्लो समयमा सडकमा दुर्घटना बढ्दै गएको र यसलाई कम गर्न सचेतना कार्यक्रमको आयोजना गरेका हौं ।’ जिल्ला ट्राफिक कार्यालय उदयपुरका प्रमुख दिनेश कुमार चौधरीले भने, ‘सवारी दुर्घटना रोक्न ट्राफिक मात्र सक्रिय नभएर आमनागरिक पनि सक्रिय हुनु पर्छ ।’
यसरी सचेतना कार्यक्रम मार्फत विद्यार्थीहरुलाई सचेत गर्नु राम्रो हो । जिल्ला ट्राफिक कार्यालय उदयपुरका यस्ता प्रकारका कार्यहरुले दुर्घटनामा कमी आउने जानकारहरु बताउँछन् । यसरी ट्राफिक प्रहरीहरु विद्यालयमा नै आएर विद्यार्थीहरुलाई ट्राफिक नियम सम्बन्धी जानकारी दिनु राम्रो कार्य भएको विद्यार्थीहरुले बताए ।
कार्यक्रममा ककनी मोडल स्कुलका विद्यार्थी, अभिभावक, त्रियुगा नगरपालिका वडा नम्बर ८ र ९ का वडाअध्यक्ष, सञ्चारकर्मी, स्थनिय बुद्धिजिवी लगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया