उदयपुर । उदयपुरगढी गाउँपालिकाका विभिन्न सामुदायिक वन उपभोक्ता समूहलाई फलफूलका बिरुवा वितरण गरिएको छ । गाउँपालिकाका विभिन्न वडामा रहेका १० वटा सामुदायिक वन उपभोक्ता समूहलाई सवडिभिजन वन कार्यालय नेपालटारले ३ हजार ३ सय २२ वटा बिरुवा उपलब्ध गराएको हो ।
सवडिभिजन वन कार्यालय नेपालटारका वन कर्मचारी महेश रिजालका अनुसार आँप, कटहर, लिचीलगायत विभिन्न प्रजातिका फलफूलका बिरुवा नेपालटारमा वितरण गरिएको हो । रिजालका अनुसार उदयपुरगढी गाउँपालिकाभित्र हाल ४८ वटा सामुदायिक वन उपभोक्ता समूह रहेका छन् । सवडिभिजन वन कार्यालयले प्रत्येक वर्ष सामुदायिक वन समूहलाई फलफूल, घाँस तथा जडीबुटीजन्य बिरुवा वितरण गर्दै आएको छ । आवश्यक बिरुवाको माग संकलनका लागि कार्यालयले सम्बन्धित समूहलाई पत्राचार गर्ने र प्राप्त मागका आधारमा बिरुवा उपलब्ध गराउने गरेको छ ।
यस वर्ष विश्वकञ्चन, चियाबारी, बिजनवारी, सरस्वती, रातमाटे, ध्रुवतारा र सीतालगायत १० वटा सामुदायिक वन उपभोक्ता समूहले बिरुवा प्राप्त गरेका छन्। निर्धारित समयभित्र निवेदन नदिएका समूहलाई भने बिरुवा वितरण नगरिएको रिजालले जानकारी दिए ।









