सुखिलाल चौधरी/ उदयपुर । उदयपुरको बेलका नगरपालिकामा पहिलो पटक आयोजना गरिएको ‘प्रथम बेलका पर्यटन महोत्सव २०८३’ भव्य र उत्साहजनक रूपमा सम्पन्न भएको छ । नयाँ वर्ष २०८३ को स्वागतसँगै वैशाख १ गतेदेखि ६ गतेसम्म सञ्चालन भएको महोत्सवले बेलकाको पर्यटन सम्भावनालाई राष्ट्रियस्तरमा चिनाउने महत्वपूर्ण अवसर सिर्जना गरेको आयोजकले जनाएको छ ।
आन्तरिक पर्यटन प्रवद्र्धन, स्थानीय स्रोत–साधनको परिचय र धार्मिक तथा प्राकृतिक सम्पदाको संरक्षण गर्ने उद्देश्यका साथ आयोजना गरिएको महोत्सवले अपेक्षाभन्दा बढी सफलता हासिल गरेको सरोकारवालाहरूको भनाइ छ। समापन समारोह आइतबार बेलका–८, चतारा कोठुस्थित बेलका बीच रिसोर्टमा सम्पन्न भएको थियो, जहाँ सहभागीहरूले पहिलो प्रयासमै महोत्सवको भव्यता र प्रभावकारितालाई उच्च मूल्यांकन गरेका छन् ।
समारोहमा बोल्दै बीच रिसोर्टका सञ्चालक रमण भट्टराईले महोत्सवले बेलकाको पर्यटन विकासमा नयाँ उचाइ थपेको बताए। “पहिलो प्रयासमै यति ठूलो सहभागिता र उत्साह देखिनु आफैंमा सफलता हो,” उनले भने, “यसले स्थानीय व्यवसायीलाई मात्र होइन, समग्र क्षेत्रको आर्थिक गतिविधिलाई पनि चलायमान बनाएको छ ।”
‘बेलकाको जल, जमिन र आकाशमा रमाऔँ, ऐतिहासिक, प्राकृतिक र साहसिक पर्यटन प्रवद्र्धन गरौँ’ भन्ने मूल नारासहित उदयपुर विकास समिति र बेलका पर्यटन व्यवसायी संघले संयुक्त रूपमा महोत्सव आयोजना गरेका थिए। स्थानीय व्यापारी, युवा समूह र विभिन्न संघ–संस्थाको सक्रिय सहभागिताले महोत्सवलाई जनउत्सवका रूपमा स्थापित गरेको देखिएको छ ।
महोत्सवले बेलका–७ र ८ मा रहेका धार्मिक तथा ऐतिहासिक सम्पदाहरू—मैना राजा–मैना रानी, रंगमहल दरबार, टंकेला गुफा लगायतका स्थलहरूको व्यापक प्रचार–प्रसार गरेको छ। साथै छिमेकी जिल्ला सुनसरीस्थित प्रसिद्ध तीर्थस्थल बराहाक्षेत्रसँगको धार्मिक सम्बन्धलाई अझ सुदृढ गर्दै संयुक्त पर्यटन विकासको सम्भावनालाई उजागर गरेको छ ।
उदयपुर विकास समितिका अध्यक्ष बलदेव चौधरीले बेलकालाई धार्मिक पर्यटनको केन्द्र बनाउने दीर्घकालीन लक्ष्यसहित महोत्सव आयोजना गरिएको बताए । “यो केवल उत्सव मात्र होइन, भविष्यको पर्यटन मार्गचित्र हो,” उनले भने, “धार्मिक पर्यटनले आर्थिक समृद्धिसँगै सामाजिक र सांस्कृतिक रुपान्तरण पनि ल्याउन सक्छ ।”
उनले महोत्सवलाई निरन्तरता दिँदै यसलाई वार्षिक कार्यक्रमका रूपमा विकास गर्ने योजना रहेको जानकारी गराउँदै स्थानीय, प्रदेश र संघीय तहबाट सहकार्य आवश्यक रहेको उल्लेख गरे ।
समापन अवसरमा सहभागीहरूलाई सप्तनदी क्षेत्रमा बोटिङ गराइएको थियो, जहाँ प्रसिद्ध बराहाक्षेत्रदेखि बेलका–८ कोठुस्थित बीच रिसोर्टसम्मको जलयात्राले पर्यटकहरूलाई अद्वितीय अनुभव प्रदान गरेको थियो। यसले कोशी क्षेत्रको प्राकृतिक सौन्दर्य र जलपर्यटनको सम्भावनालाई प्रत्यक्ष रूपमा उजागर गरेको सहभागीहरूले बताएका छन्।
धरान–चतारा–गाईघाट–कटारी हुँदै सिन्धुली जोडिने मदन भण्डारी लोकमार्ग सञ्चालनमा आएपछि बेलकाको पहुँच थप सहज बनेको छ । यसले चताराक्षेत्रलाई पूर्वी नेपालकै उदाउँदो पर्यटकीय र व्यापारिक केन्द्रका रूपमा स्थापित गर्ने आधार तयार गरिरहेको छ ।
बेलका क्षेत्र धार्मिक, प्राकृतिक र साहसिक पर्यटनको संगमस्थलका रूपमा विकसित हुँदै गएको छ। मैना राजा–मैना रानीको दरबार, रंगमहल, बराहाक्षेत्र धाम जस्ता धार्मिक स्थलसँगै बुक्तोडाँडामा सञ्चालन भइरहेको प्याराग्लाइडिङ, नदीमा र्याफ्टिङ र बोटिङ, तथा कोशी टप्पु क्षेत्रमा जंगल सफारी, बर्ड वाचिङ, ट्रेकिङ र स्थानीय परिकारले पर्यटकलाई आकर्षित गर्ने बहुआयामिक सम्भावना बोकेको छ ।
स्थानीयवासीका अनुसार, योजनाबद्ध रूपमा पूर्वाधार विकास, प्रचार–प्रसार र व्यवस्थापन गर्न सके बेलका नेपालकै प्रमुख धार्मिक तथा प्राकृतिक पर्यटन गन्तव्य बन्ने निश्चित छ । पर्यटन विकाससँगै रोजगारी सृजना, स्थानीय उत्पादनको बजारीकरण र संस्कृति तथा प्रकृतिको संरक्षणमा पनि महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ।
समग्रमा, ‘प्रथम बेलका पर्यटन महोत्सव २०८३’ ले बेलकालाई नयाँ पहिचान दिने, सम्भावनालाई अवसरमा रूपान्तरण गर्ने र समृद्धिको बाटोमा अघि बढाउने बलियो आधार तयार पारेको निष्कर्ष निकालिएको छ ।









