उदयपुर । ‘घरघर विद्युतीय चुल्हो आमाको स्वास्थ्य ठूलो’ भन्ने नाराका साथ त्रियुगा नगरपालिकाले नगरभित्रका करिब २० हजार घरधुरीलाई वितरण गर्न लागेको विद्युतीय चुल्होको काम एकाएक रोकिएको छ । वैशाख २१ गते विद्युतीय चुल्हो वितरण गर्न त्रियुगा नगरपालिकाले सम्बन्धित वडा कार्यालयबाट घरधनीको नाम र नागरिकतासहित निवेदन दिन सूचना प्रकाशित गरेको थियो । स्मरणीय छ, असारमा सम्पन्न नवौं नगरपरिषद्ले त्रियुगा नगरपालिकाभित्रका सबै वडामा विद्युतीय चुल्हो उपलव्ध गराउने निर्णय पारित गरेको थियो ।
सूचना प्रकाशित भएको दुई दिन नबित्दै सो काम रोक्न एकाएक अर्को सूचना प्रकाशित गरिएको छ ।
चुल्हो वितरणको लागि वडा कार्यालयमार्फत् संकलन गर्न लागिएको नामावलीको काम एकाएक रोक्नु पर्ने कारण भने स्पष्ट खुलाइएको छैन । सूचनामा अर्को सूचनामार्फत् जानकारी नगराएसम्म उक्त कार्य स्थगन गर्न र सोको जानकारी सर्वसाधारणलाई सार्वजनिक सूचनामार्फत् गराउन अनुरोध गरिएको छ ।
निर्वाचन आचारसंहिताले नछोएपछि बलदेव चौधरी लगायतका नगर प्रमुखका उम्मेदवार र पुनः वडाध्यक्षका उम्मेदवार बनेका वडा नम्बर १ का मनोज चौधरी, वडा नम्बर २ का घमानसिंह खत्री, वडा नम्बर ३ का अवधेश चौधरी, वडा नं. ४ का सुभाष निरौला, वडा नम्बर ५ का उद्धव कार्की, वडा नम्बर १० का प्रकाश खड्का, वडा नम्बर १३ का पशुपति चौधरी, वडा नम्बर १४ का निरबहादुर मगर र वडा नम्बर १६ का मानबहादुर राईले निर्वाचनलाई प्रभाव पार्ने भन्दै अन्य प्रतिस्पर्धीहरुले दवाव दिएपछि स्थगनको सूचना निकालिएको दाबी गरिएको छ ।
स्मरणीय छ, यीमध्ये बलदेव चौधरीले नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को तर्फबाट गठबन्धनका साझा नगर प्रमुखको पदमा उम्मेदवारी दिएका छन् भने मनोज चौधरी, निरबहादुर मगर, उद्धव कार्की, प्रकाश खड्का नेपाली काँग्रेसका उम्मेदवार रहेका छन् । त्यसैगरी नेकपा एमालेका तर्फबाट घमानसिंह खत्री र सुभाष निरौलाले उम्मेदवारी दिएका छन् ।
नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रका तर्फबाट मानबहादुर राई, पशुपति चौधरी, अवधेश चौधरीहरु गठबन्धनका उम्मेदवार बनेका छन् । मसी सुक्न नपाउँदै रोक्न बाध्य हुनु परेको सूचनाको खास कारणबारे नागरिक बहस अनलाइनले बारम्बार फोन गरेर बुझ्न खोज्दा निमित्त कार्यालय प्रमुख विश्वजित राईको मोबाइल फोन सँधै ‘अहिले सम्पर्क हुन सकेन, केही क्षणपछि पुनः सम्पर्क गर्नुहोला’ भन्ने अवस्थामा राखिएको छ ।
नगरपालिकाका निमित्त प्रमुख विश्वजित राईको हस्ताक्षर भएको उक्त पत्रपछि सर्वसाधारण आक्रोशित बन्दै अनेकथरि टिप्पणी गर्न थालेका छन् । उनीहरुले विकास निर्माण र जनताले पाउने सेवासुविधा कुनै पनि बहानामा रोक्न नमिल्ने बताउँदै बलदेव चौधरीको पालामा भएको राम्रो काम रोक्ने प्रयास भएको बताए ।
त्रियुगा नगरपालिकाका एक कर्मचारीका अनुसार सूचना प्रकाशन भएपछि नेकपा एमालेका कार्यकर्तालाई बढी फर्म भर्न लगाएपछि नेपाली काँग्रेसको दवावमा निवेदन रोक्न लागि परेपछि सूचना प्रकाशित गरेर निवेदन माग स्थगित गरेको जनाएको छ । उनले काँग्रेसबाट दवाव दिने व्यक्तिको नाम बचाउन चाहेनन् ।
स्मरणीय छ, असारमा सम्पन्न नवौं नगरपरिषद्ले त्रियुगा नगरपालिकाभित्रका सबै वडामा विद्युतीय चुल्हो उपलव्ध गराउने निर्णय पारित गरेको थियो । निर्णयपछि सम्भाव्यता अध्ययन र अन्य निकायसँग समन्वय र सहकार्य गर्ने नीतिअनुरुप वैकल्पिक ऊर्जा कम्पनी, विद्युत प्राधिकरणहरुसँग कुराकानी भएका थिए । र, पछिल्लो समयमा आएर प्रारम्भिक कार्य शुरु गरिएको थियो ।
नगरसभाले दाउरा, गुईंठालगायतका परम्परागत इन्धनको प्रयोग गर्दा निस्कने धुवाँ धुलोको कारण फोक्सो, घाँटी र आँखासम्बन्धी विभिन्न किसिमका रोगबाट गृहिणी आमाहरु ग्रसित भएको देखिएपछि विद्युतीय चुल्हो वितरण गर्ने तयारी गरेको थियो । त्रियुगा नगरपालिकामा २० हजारभन्दा बढी घरधुरी छन् । सोही सर्वेक्षणका आधारमा मापदण्ड खडा गर्दै विद्युतीय चुल्हो वितरण गर्ने तारतम्य मिलाइएको थियो ।
प्रतिचुल्हो बजारमा दुई हजार आठ सयदेखि पाँच हजार रुपैयासम्ममा बिक्री वितरण हुँदै आएको छ । यसले बिजुली खपतमा वृद्धि गर्नुका साथै धुवाँबाट पुग्ने असरलाई पूर्णरुपमा हटाउन सहयोग मिल्ने दाबी जानकारहरुले गर्दै आएका छन् । भान्साभित्र स्वच्छ र स्वस्थ वातावरण तयार गर्न विद्युतीय चुल्हो प्रभावकारी हुँदै आएको बताइन्छ ।
त्रियुगा नगरपालिका क्षेत्रफलको आधारमा नेपालकै चौथो ठूलो नगरपालिका हो भने घनाजंगलले भुपरिवेष्ठित उक्त नगरपालिकामा इन्धनको रुपमा दाउरा प्रयोग गर्नेको संख्या ग्रामीण बस्तीहरुमा करिब ९० प्रतिशत पाइन्छ । सहरी क्षेत्रमा पनि ३० देखि ३५ प्रतिशतले दाउरा उपयोग गर्ने, भित्रिमधेश क्षेत्रमा गोबर गुईंठा, सन्ठीलगायतका सामग्री इन्धनको रुपमा प्रयोग हुँदै आएको छ ।









