सुखिलाल चौधरी, उदयपुर । ऐतिहासिक तथा धार्मिक महत्व बोकेको हजारौँ वर्ष पुरानो बहुआकृतिको पञ्चेश्वर गुफा ओेझेलमा परेको छ । उचित व्यवस्थापन, संरक्षण र प्रचार प्रसारको अभावमा उदयपुरको त्रियुगा नगरपालिका १४ साउने बजारभन्दा २ किलोमिटर दक्षिण निपाने भीरमा बहुआकृतिसहितको पञ्चेश्वर गुफा ओझेलमा परेको हो ।
स्थानीयले वहुआकृतिसहितको गुफा दशकअघि फेला परे पनि आवश्यक प्रचार प्रसार र संरक्षणको अभावमा अहिलेसम्म आन्तरिक तथा बाह्य पर्यटकहरुको नजरमा पर्न सकेको छैन । गणेशको सुँढ, मयुर नाचेको प्रष्ट बुट्टा देखिने कलात्मक कृतिहरु भएको गुफा पर्यटकको पर्खाईमा ओझेलमा परेको छ ।
साउने थुम्काको शीरमा मुहान भएर बग्ने चुनिया खोलादेखि झण्डै एक किलोमिटर ठाडो उकालो चढेपछि पुगिने सो गुफाको स्थानीयले ‘पञ्चेश्वर महादेव’ नामाकरण गरेका छन् । खोलादेखि उकालो चढ्दा सुरुमा भेटिने ठूलो आकारको कलात्मक ढुंगाको ओढारदेखि गुफा सुरु हुन्छ । ओढारको दक्षिणमा एक जनामात्र छिर्न मिल्ने द्वारबाट सुरु हुने गुफा भित्र भित्रै नागबेली लहराझै घुमेर झण्डै ६ सय मिटर लम्बाईको दूरी पार गरेपछि उत्तरतर्फ निस्कने उस्तै द्वार रहेको पुजारी ६७ वर्षीय खामबहादुर मगरले बताए । स्थानीयका अनुसार लगभग ३०÷३५ वर्षअघि स्थानीय बुढापाकाले बीच जंगलमा सो गुफा पत्ता लगाएका हुन् ।
गाउँलेहरुका अनुसार गुफा पत्ता लाग्नुको फरक फरक किम्बदन्ती छ । एउटा किम्बदन्ती अनुसार गाउँलेहरु गाई बाख्रा चराउनजाँदा सँगै गएको कुकुरले जंगलमा चमेरा मारिदियो । त्यो दिन चराउन गएका सबै गाईबाख्रा हराए । ३÷४ दिनसम्म नभेटिएपछि खोज्ने क्रममा गुफा फेला प¥यो । शक्तिपिठ भन्ने ठानेर भाकल गरी एकजोर परेवा उडाएपछि सबै गाईबाख्रा भेटिए । अर्को किम्बदन्तीअनुसार गाईबाख्रा चराउँनतथा घाँसदाउरा गर्न गएका स्थानीयले भिषण वर्षा भएपछि ओत लाग्न छहारी खोज्दै जाँदा पट्टेर जंगल बीच अनकन्टार भीरमा कलात्मक ढुंगासहितको ओढार फेला पारे । ओढारमा ओत लागोका उनीहरु वर्षा रोकिएपछि नियाल्दै जाँदा ओढारको ढुंगा विभिन्न देवदेवी आकारमा कुँदिएको पाइयो, हेर्दै जाँदा गुफा भेटियो । सो गुफा पत्ता लगाउनेहरुले गाउँलेलाई सुनाए, गाउँलेहरु गएर हेर्दा कलात्मक ओढारसहितको दुईतले गुफा र त्यस भन्दा माथिको भागमा पोखरी भेटियो । तर, प्रचार प्रसार हुन नसकेर संरक्षण पनि हुन पाएन ।
खोलादेखि उक्लदा भेटिने पहिलो गुफा झण्डै ३० मिटर व्यासको ढुंगाको ओढारमा गणेशको सुँढ, मयुर नाचेको प्रष्ट बुट्टा देखिने कलात्मककृतिहरु छन् । ओढारको ढुंगामा विभिन्न आकार पलाएको छ, जसलाई बजाउँदा मादलको आवाज आउँछ । ओढारमै पलाएका ढुंगा बजाउँदा कुनै ठूलो र कुनै सानो आवाज आउने हुँदा मादल, तुङना र डम्फु बजाएझैं सांङ्गीतिक धुन निस्कने प्रत्यक्ष प्रयोगकर्ता पर्यटकहरु बताउँछन् । ओढारको दायाँ बाँया दुवै पटि मान्छे छिर्न मिल्ने लगभग एक मिटर व्यास आकारको द्वार रहेका छन् । जसबाट छिर्ने र अर्कोपटि निस्कन सकिन्छ । ओढारभन्दा बायाँ पटि १५ मिटरजतिमाथि गएपछि गुफाको द्वार भेटिन्छ ।दक्षिणी द्वारभन्दाकेहीमाथिहात्तीआकारको मूर्ति गुफाभित्रै प्रष्ट देखिन्छ । सुतेर मात्र छिर्न सकिने गुफाभित्र छिरेपछि उत्तरतर्फको द्वारमा निस्कन सकिने स्थानीय बताउँछन् । पहिलो ओढारभन्दा झण्डै १५/२० मिटर माथिउक्लेपछि अलि सानो ओढार भेटिन्छ । त्यो पनित्यस्तै कलात्मक र देवदेवीको झल्को दिने आकारका चित्रहरु प्राकृतिक रुपमै यत्रतत्रकुँदिएका छन् ।
गुफाको देब्रेपटि भिरालो जमिन १०/१२ मिटर चढेपछि त्यसको बायाँ छेउ भएर केही समथर जमिनछ,जसको सम्मुखअर्को ओढारसहितको गुफा छ । त्यसलाई परिक्रमा गर्नेगरी अर्को २५÷३० मिटर उक्लेपछि समथर जमिनमापोखरी छ । नियमितउत्पत्तिभएर बगिरहने लगभग १० मिलिमिटर स्रोतको पानी जमाउने नगर्दा पोखरी भने सुक्दै गएको अवस्था छ । बगिरहने पानी संरक्षण गरे सुख्खा मौसममा पनि पोखरी भरिभराउ र मनमोहक हुने स्थानीयको अनुमान छ । गुफा वर्षौंअघि फेला परे पनि त्यसको विषयमा गाउँलेहरुले सम्बन्धित निकायमा थाहा नदिएका कारण ओझेलमै परेको त्रियुगा नगरपालिका १४ का वडाध्यक्ष हिम राज मगर बताउँछन् । उनका अनुसार सुरुमा गुफाबारे गाउँलेलाई जानकारी भएपनि सम्बन्धित निकायलाई थाहा नदिएकाले संरक्षण र प्रचार प्रसार हुन नसकेको हो ।
कलात्मकगुफासहितको ओढार ।
‘त्यहाँ कलात्मक गुफा र पोखरी छ भन्ने कुरा केही गाउँलेलाई २ अढाई दशक अघि नै थाहा रहेछ तर, तत्काली गाविससम्म पनि यो कुरा आएन’ साविक साउने गाविसदेखि नै सचिव रहेका राउतले भने ‘३÷४ वर्षअघि मात्र यो कुरा जानकारी आयो, अहिले गाविस त्रियुगा नगरपालिकामा समायोजन भएपछि गुफाको संरक्षण र प्रचारप्रसारको पहल थालेका छौं ।’ वडा कार्यालयको आग्रहमा नगरपालिकाले गुफाको दीगो संरक्षण, व्यवस्थापन र आवश्यक प्र्रचारप्रसार अभियान थालेको भन्दै उनले त्यसबारे बृहत योजना बनाउन अध्ययन थालिएको उनले बताए । नगरपालिकाको लगानीमा स्थानीय सरोकारवालासँग छलफल गरी गुफाको उत्पत्ती र विकासबारे अध्ययन गर्दै संरक्षण, व्यवस्थापन र दीर्घकालीन महत्व दिइएको वडाध्यक्ष मगरले बताएका छन् ।
कलात्मक गुफासहितको ओढार ।
विगत ५ वर्षदेखि भने हरेक शिवरात्री र बाला चतुर्दशीमा वडा कार्यालयले मेला लगाउन थालेको छ । मेला लगाउन थालेपछि गतवर्ष वडाकै लगानीमा साउने बजारदेखि डेढ किलोमिटर खोलासम्मै कच्ची सडक खनेर नयाँ ट्र्याक निकालिएको छ । सडक पुगेसँगै खोला किनारको लगभग १५ रोपनी जमिन सम्याएर मेलाका लागि पसल र स्टल राख्ने ठाउँ बनाइएको छ । खोला वारिपारिको जमिन सम्याएर बजारस्थल बनाइए पछि त्यहाँको भूभाग आकर्षक बन्दै गएको छ । गुफाभन्दा १ किलोमिटर तल बग्ने चुनिया खोलाको दृष्यले पञ्चेश्वर महादेव परिसरलाई काठमाडौंको दक्षिणकाली मन्दिर जस्तै प्राकृति संरचनाको झल्को दिएको स्थानीय बताउँछन् । गएको बाला चतुर्दशीमा भव्य मेला लागेको र टाढाटाढाबाट भक्तजन र पर्यटक सहभागी भएको वडा सदस्य हेम मगरले बताए । उनका अनुसार विगत ३÷४ वर्षयता अस्तीत्वमा आएको उक्त गुफाको धार्मिक पर्यटकीय संभावना अत्यन्त बढी छ ।

वडाध्यक्षले सो क्षेत्रलाई प्राकृतिक स्वरुप नविगारी संरक्षण र प्रबद्र्धन गरेर धार्मिक–पर्यटकीय स्थलमा रुपान्तरण गर्ने गरी योजना ‘स्केच’ गर्ने बताएका छन् । उनले खोलादेखि गुफासम्म र गुफा वरिपरि सिंढी निर्माण गरेर दायाँ वायाँ रेलिङ जडान गरेर भक्तजन पर्यटकलाई आउजाउ गर्न सहज बनाउने, गुुफा परिक्रमा गर्न प्राकृति स्वरुप नविगारी रेलिङ जडान गर्ने, नागबेली लहरा लगायत स्थानीय रैथाने वनस्पतिको जगेर्ना गर्दै पोखरीसम्म पुग्ने सिंढी निर्माण गर्ने तथा पोखरीलाई जैविक प्रविधिबाट संरक्षण गरी त्यहाँको पानी गुफासम्म ल्याएर अलौकिक दृष्य देखिने गरी पुनर्सरचना गरेर पर्यटक र भक्तजनको मोह खिच्ने योजना अघि सारेका छन् ।
त्रियुगा नगरपालिकाका उपमेयर महेश्वरी राईले नगरपालिका भित्रका सबै धार्मिक तथा पर्यटकीय स्थलहरुको विकास, संरक्षण र संबद्र्धनलाई प्रमुख प्राथमिक्ता दिएर योजना निर्माण भईरहेको बताए । उनले पर्यटनलाई मुख्य आधार बनाएर आधुनिक, समृद्ध र समुन्नत नगरपालिका बनाउन १६ वटै वडाका धार्मिक तथा पर्यटकीय स्थलहरुको पहिचान गरी विकास गर्न अध्ययन भईरहेको बताए । खासगरी ओझेलमा परेका धार्मिक स्थल, प्राकृतिक महत्वका सम्पदा र पर्यटन संभावना बोकेका ठाउँहरुको खोजी गरिसकेको नगरपालिकाले अव संरक्षण, विकास र प्रबद्ध्र्रनतर्फ आगामी बजेट र नीति कार्यक्रमले सम्बोधन गर्ने उपमेयर राईले प्रतिबद्धता गरेकी छिन् ।









