उदयपुर । त्रियुगा नगरपालिकाका नगर प्रमुख बलदेव चौधरीले नगर क्षेत्रका सुत्केरी महिलाहरुलाई एम्बुलेन्स सेवा प्रदान गर्ने तयारी थालेको बताए । घरघरमा नै प्रसुति हुने क्रमलाई घटाउन नगर पालिकाले सुत्केरी महिलालाई स्वास्थ्य संस्था सम्म लैजाने एम्बुलेन्सको खर्च दिन लागेको हो ।
त्रियुगा नगरपालिका वडा नम्बर १२ ले आयोजना गरेको जेष्ठ नागरिक, एकल महिला, र अपाङ्गता भएका ब्यक्तिहरुलाई जाडोको मौसम भएकाले एक÷एक वटा ब्याङकेट र एक÷एक वटा जुस दिएर सम्मान गर्दै नगर प्रमुख चौधरीले सनिवार सो बताएका हुन । देश निर्माणको अभियानमा सबै एक भएर जुट्नु पर्ने बताए । राज्यले अबलम्बन गरेको सुखि नेपाली, समृद्ध नेपाल निर्माणमा सबैको योगदान हुनु पर्नेमा जोड दिए । यसका लागि सबैले आ आफनो क्षेत्रबाट सकेको योगदान गर्न आग्रह गरे ।
उनले भने, कानुनको नजरमा सबै नागरिक बराबर छ । जिम्मेवारीको हिसाबले कसैलाई के जिम्मेवारी कसैलाई के जिम्मेवारी दिएको मात्र हो । कानुनले सबैलाई समान दृष्टिले हेर्छ । हामी नयाँ संरचना गएकाछौं, कानुनी रुपमा केहि समस्याहरु भएकाले हामीले चाहेको जस्तो काम गर्न सकेका छैनौं । कानुन बन्दैछ केहि बन्ने क्रममा छ केही बनि सकेको छ र बिस्तारै बन्दै जाने क्रममा भएकाले यो बिचमा केही समस्या आउँनु स्वाभाबिक हो । अब बन्ने कानुनमा सबै नागरिकले रोजगारी पाउने ग्यारेण्टी हुनेछ । नगरपालिकाले दिगो बिकासलाई ध्यानमा राखेर योजनाहरु निर्माण गर्ने क्रममा रहेकोछ । त्यसका लागि सबैले सहयोग गर्न आग्रह गरे ।
नगर क्षेत्र भित्रका जेष्ठ नागरिकहरुलाई घरघरमा पुगि सामान्य स्वस्थ्य उपचार गर्ने ब्यवस्था गर्न लागेको स्पष्ट पारे । सामाजिक सुरक्षा प्रणालीलाई ब्यवस्थित गर्ने क्रम रहेको बताउँदै हिजो बृद्ध भत्तामा मात्र सिमित रहेको सामाजिक सुरक्षा प्रणाली आज आएर बृहत हुन पुगेको छ । सामाजिक सुरक्षा प्रणालीले श्रमिक वर्गलाई धेरै फाइदा पुगेकोछ । बर्तमान कानुनमा धनिले मात्र ऋण पाउने ब्यवस्था छ । तर अब बन्ने कानुनमा गरिब तथा श्रमजिबि वर्गले सिप र ब्यवसायको आधारमा बिना धितो ऋण पाउने ब्यवस्था गरिनु पर्नेमा जोड दिए । उदाहरणका लागि बैंकले गरिबलाई ऋण दिदैन् धनीलाई नै ऋण दिन्छ ।
वडा अध्यक्ष जयबिक्रम राईले वडा भित्रका जेष्ठ नागरिकलाई सम्मान गर्ने परिपाठीको थालनी गरेको बताए । जेष्ठ नागरिक भनेको अनुभवका खानी हुन । उनीहरुसँग धेरै अनुभव हुने भएकाले समाजले जेष्ठ नागरिकहरुलाई सम्मान गरि उनीहरुसँग भएको ज्ञान र सिपलाई लिएर प्रयोगमा ल्याउन सके समाज बिकासमा महत्वपूर्ण योगदान पुग्ने थियो ।
जेष्ठ नागरिकहरुलाई आगामी वर्ष देखि घरघरमा नै पुगेर सेवा दिने पहल गरिने वडा अध्यक्ष राईले भने । जेष्ठ नागरिकको सल्लाहा सुझाब र अनुभवले हामीलाई लक्ष्यमा पुग्न मद्दत मिल्ने बताए । त्रियुगा नगरपालिका वडा नम्बर १२ स्थित जेष्ठ नागरिक, एकल महिला, र अपाङ्गता भएका २५५ जनालाई जाडोको मौसम भएकाले एक÷एक वटा ब्याङकेट र एक÷एक वटा जुस दिएर सम्मान गरिएको थियो ।
कार्यक्रममा त्रियुगा नगरपालिकाका पञ्जिकरण शाखाका प्रमुख नायब सुब्बा खड्गबहादुर खड्काले घटना दर्ताको बारेमा जन्म, विवाह, बसाई–सराई, सम्बन्ध बिच्छेद र मृत्यु किन आवश्यक पर्दछ र कानुनले तोकिएकै समयमा किन दर्ता गर्नु पर्ने हो, र त्यसको कारणहरुको बारेमा सहभागीहरुलाई जानकारी दिएको थियो ।
खड्काका अनुसार घटना दर्ता गर्ने क्रममा दलित समुदायले बच्चा जन्मिएको ३५ दिन भित्रमा सम्बन्धि वडा कार्यालयका गई आफनो नानीको जन्म दर्ता गराएमा उसलाई १ हजार रुपैया प्रोत्साहन भत्ता दिने ब्यवस्था रहेको बताए । त्यसैगरी दलितको बच्चाहरुलाई जन्मेको महिना देखि ६० महिना सम्म मासिक ४ सय रुपैया भत्ता दिने ब्यवस्था रहेको जानकारी दिए । त्रियुगा नगरपालिका भित्र ६ हजार २ सय जनाले सामाजिक सुरक्षा भत्ता पाउँदै आएको उल्लेख गरेका छन् ।
नेपाल भरिका ७ सय ५३ स्थानीय तहमा सनिवार सम्म २५ लाख ५३ हजार २ सय २९ जनाले सामाजिक सुरक्षा भत्ता लिदै आएको तथ्याङ्गक रहेको छ । जसमा १३७ वटा नगरपालिका र २ सय ८५ वटा गाउँपालिकाले बैक मार्फत अन्य ३ सय ३१ स्थानीय तहले आफै बितरण गर्दै आएको छ ।