उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका ४ अन्तर्गतका ३ वटा सामुदायिक विद्यालयका १ सय ८ गरिव, विपन्न विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । वडा कार्यालय आर्थिक वर्ष २०७६÷७७ को बालबालिका शिर्षक अन्तर्गत १ सय ८ विपन्न गरिव विद्यार्थीलाई एक कार्यक्रम विच न्यानो कपडा वितरण गरिएको हो । दिनहुँ बढ्दै गएको चिसोको कारण विपन्न गरिव विद्यार्थीहरुमा प्रतिकुल असर परेको भन्दै ट्रयाकसुटको सेट नै वितरण गरिएको त्रियुगा नगरपालिका ४ का वडाध्यक्ष सुभाष निरौलाले बताए । उनका अनुसार जाडो मौसममा न्यानो कपडाकै कारण कोही विद्यार्थी विद्यालयबाट वञ्चित नहोस भन्ने उद्देश्यले कपडा वितरण गरिएको हो ।
उनका अनुसार वडाका विपन्न गरिव विद्यार्थी पनि जाडोमा विद्यालय आउने वातावरण बनाउनको लागि न्यानो कपडा वितरण गरिएको हो । वडाध्यक्ष निरौलाका अनुसार वडा कार्यालयको बजेटबाट बालबालिका शिर्षकको एक लाखबाट ३ वटा विद्यालयका १ सय ८ विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको बताए ।
राष्ट्रिय मावि बगहाका ५०, शिवशक्ति आधारभूत विद्यालयका ४४ र मनकामना आधारभुत विद्यालयका १४ दलित तथा विपन्न विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको वडाध्यक्ष निरौलाले बताए ।









