उदयपुर । सुनसरीको कोशी टप्पु वन्यजन्तु आरक्षको जंगली हात्तीले उदयपुरको त्रियुगा नगरपालिका आसपास क्षेत्रमा आतंक मच्चाएको छ । आरक्षबाट निस्केको जंगली हात्तीले मच्चाएको वितण्डाका कारणले दुई दर्जन बढीको धानबाली नष्ट गरेको छ । जंगली हात्तीको आतंकबाट त्रियुगा नगरपालिका २ जोगिदह, मोथियाही, खैजनपुर र सोनुवाको साथै त्रियुगा नगरपालिका ३ भुल्केमा किसानको धानबाली नष्ट गर्नुको साथै चार घरमा क्षती पुर्याएको छ । चार वटा वयस्क र दुई वटा बच्चा गरी ६ वटा हात्तीको समूह रहेको छ ।

त्रियुगा नगरपालिका बैरागी टोलमा श्री परियारको घरको टाटी भचकाएको, अन्दाजी १० मुरी धान नष्ट गरेको, तरकारी नष्ट गरेको छ । मोथियाहीमा गुणराज कार्कीको सिमेन्ट घरको टाटी भत्काएको, मकैको थाङ्नो, परेवाको खोर, वरिपरि लगाएका उखु, केरा, तरकारी नष्ट गरेको छ भने उनकै कान्छाभाईको घरमा समेत क्षति पुर्याएको छ । यस्तै खैजनपुरमा भुपू वडाध्यक्ष लिल बहादुर खड्का बखारीको २० मुरी धान खाएर नष्ट गरिदिएको त्रियुगा नगरपालिका २ का वडाध्यक्ष घमानसिंह खत्री (ध्रुव)ले जानकारी दिएको छ । उनका अनुसार शनिबार राति पनि केही घरमा क्षति पुर्याएको विवरण प्राप्त भएको जनाएको छ । त्रियुगा नगरपालिका २ र ३ मा शुक्रबार र शनिबार राती देखि स्थानीयहरु जाग्रम बसेर रात काटी रहेको वडाध्यक्ष खत्रीले बताए । उनका अनुसार विगतका वर्षमा पनि हात्तीको आतंक थियो यस वर्षपनि हात्तिको आतंक कायमै रहेको बताए ।
यस्तै शनिबार राति डिभिजन वन कार्यालय उदयपुरका टोलीले सोनुवा, मोथियाही लगायतका स्थानमा हात्तीलाई धपाउने काम भएको डिभिजन वन कार्यालय गाईघाटका सूचना अधिकारी जागेश्वर साहले जानकारी दिए । उनका अनुसार मानविय क्षति नभएपनि दर्जन बढीको धानबाली नष्ट गरेको गुनासो आएको छ ।









