उदयपुर । अमेरिकन फौजी किरा त्रियुगा नगरपालिकामा पनि फैलिएको छ । त्रियुगा नगरपालिका ७ कालीखोला पाखा टोलका करिव ६ विगहा क्षेत्रफलमा फौजी किराको प्रकोप देखा परेको छ । फौजी किराको प्रकोप महाभारत क्षेत्रमा पनि यसअघि देखा परेको थियो । पाँच साताअघि सुरु भएको फौजी किराको प्रकोप नियन्त्रणमा आउन सकेको छैन ।
त्रियुगा नगरपालिका ७ स्थित कालीखोला पाखा टोलका करिव डेढ दर्जन किसानको मकैमा फौजी किराको प्रकोप देखा परेको वडा नं. ७ का वडाध्यक्ष भिमबहादुर पुलामी मगरले बताए । उनका अनुसार फौजी किराले किसानहरुको मकै पूर्ण रुपमा नष्ट गरेको छ ।
फौजी किराले मकै पूर्ण रुपमा नष्ट गरेपछि अहिले कोदो र धानमा पनि सर्दै गएको त्रियुगा नगरपालिकाका कृषि शाखा प्रमुख नाथुराम चौधरीले बताए । उनका अनुसार ६ विगहामा डेढ दर्जन भन्दा बढी कृषकको मकै सखाप भएको छ भने धान, तरकारी र कोदोमा सर्ने क्रममा रहेकोले नियन्त्रणको लागि त्रियुगा नगरपालिका कृषि शाखा प्रयत्नरत रहेको बताए ।
उनका अनुसार बुधबारबाट प्रकोप क्षेत्रमा विषादी छर्ने काम भएको छ । बुधबार डेढ विगहा क्षेत्रफलका मकैबालीमा कृषि प्राविधिक सहितको टोलीले विषादी छर्कने काम भएको छ ।
भिम बहादुर खड्का, गोरख बहादुर बस्नेत, रामकुमार राई, सर्वध्वज राई, आइतमाया राई लगायतका डेढ दर्जनको मकैमा अमेरिकन फौजी किरा देखा परेको नायव प्राविधिक सहायक सोम दनुवारले बताए । उनले भने, ‘बुधबार स्प्रेन तीन थान, माक्स, ग्लोब, चस्मा, विषादी छर्ने टंकी, विषादी लगायतको सामग्री वितरण गरेर आएको छौं । हामीले फौजी किराको प्रकोपबाट बच्न सचेतना कार्यक्रम पनि संचालन गर्ने छौं ।’ फौजी किराको आयु १२ दिनसम्मको मात्र हुन्छ । एउटा वयस्क फौजी किराले २४ सय वटासम्म फुल पार्छ र विकासक्रम पनि तीव्र हुन्छ । किसानका अनुसार फौजी किराको समूहले घाम लागेका बेला मकैको गुबोभित्र पसेर खान्छ । रातिको समयमा कलिला पात खाए मकैको बोट सखाप पार्छ । फौजी किराले गुबो खाएपछि मकैको पात नलाग्ने, सुतली नआउने र घोगा नलाग्ने गरेको कृषक आइतमाया राईले बताईन ।
यस्तै जिल्लाको कटारी नगरपालिकाको शिसिरे, हर्देनी, मंयाखु, सोरुङ्ग छविसे, लेखानी, ताप्ली र लिम्चुङ्गबुङ्ग र रौतामाई गाउँपालिका लगायतको क्षेत्रका यो किरा देखिएको छ । किराको आक्रमणबाट कृषकको मकै, तरकारी बाली पूर्ण रूपमा क्षति पुगेको छ ।
डाले घाँसहरूमा समेत किराले आक्रमण गरे पछि पशुपालन गर्ने कृषकहरू समेत समस्या परेका छन् । लामो समयको खडेरीको मारमा परेका किसानहरू हिउँदे मकै छरे पनि बिरुवामा नै अमेरिकन फौजी किरा लागे पछि बाली सखाप हुने अवस्था रहेको कटारी नगरपालिका १० का वडाध्यक्ष लीला भट्टराईले बताए । “खडेरी र पहिरोको मारमा परेर खाद्यान्न सङ्कट झेली रहेका अवस्थामा सोरङ्ग छबिसे लगायतका कृषकहरु यति बेला भोकमरी लाग्ने अवस्था सिर्जना भएको छ ” भट्टराईले भने ।
फौजी किरा नियन्त्रणमा आउनुको सट्टा झन् फैलिँदै गएको कटारी नगरपालिका ११ का अध्यक्ष दीपक बूढाक्षेत्रीले बताए । उदयपुर जिल्लाको पहाडी क्षेत्रमा लगाइएको सयौँ हेक्टर मकैको बिरुवा बोटमै मर्ने गरी किराले सखाप पारेको छ । मकैमा लागेको घोगामा समेत पसेर असर गरेको छ । यस्तै रौतामाई गाउँपालिका ४ पोखरीमा पनि यस किराको प्रकोप देखा परेको थियो ।
किराको प्रकोप नियन्त्रण गर्न कृषि प्राविधिक टोलीले स्थलगत अनुगमनबाट फौजी किरा लागेको कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख बासु ढुंगानाले बताए । उनका अनुसार हर्देनी, मयंखु लगायतका ठाउँमा प्रकोप नियन्त्रणमा आईसकेको छ भने अन्य ठाउँहरुमा आउने क्रम जारी रहेको बताए ।
फौजी कीरा पहिलो पटक अमेरिकामा देखिएको थियो । जलवायु परिवर्तनसँगै पछिल्लो समय पहाडी जिल्लामा समेत फौजी कीराको प्रकोप बढेको छ । यो कीराले फौजी जस्तो लाइनमा बसेर बाली सखाप गर्ने भएकोले यसलाई फौजी कीरा भनिएको जानकारहरुले बताएका छन् । यो कीरा २४ घण्टामा सय किलोमिटर दुरीसम्म पुग्न सक्छ । यसले खडेरी भएर पानी परेपछि कलिलो बिरुवामा आक्रमण गर्ने गर्दछ ।
अमेरिकी रैथाने फौजी किरा समूहमा दिउँसो माटोमुनि र रूखमा बस्छ । राति सक्रिय हुने यो किराले मकै र रूखका पालुवामा फुल पार्छ । एउटा फौजी किराले एकपटकमा २ सय वटासम्म फुल पार्ने विशेषज्ञ बताउँछन् ।
माउ किराले रातमा मकैको बोटमा फुल मात्रै पार्छ भने फुलबाट निस्किएको लार्भाले मकै खाएर नष्ट गर्छ । फुल पारेको दुई दिनमै लार्भा निस्कने भएकाले यसको असर चाँडै देखापर्ने हुन्छ । माउ फौजी किराले एकै रातमा एक सय किलोमिटर क्षेत्रमा रहेका मकै र पालुवा आएका बोटमा फुल पार्ने हुँदा धेरै क्षेत्रफलमा मकै खेती नष्ट गर्ने गरेको छ ।

तपाईको प्रतिक्रिया