उदयपुर । उदयपुरमा करिव ९५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । साउनको पहिलो सातासम्म ५५ प्रतिशत रोपाइँ भएपनि साउन सकिन लाग्दा ९५ प्रतिशत रोपाइँ सम्पन्न भएको छ ।
झमझम झरी पर्ने बेलामा असारको दोस्रो साता १० प्रतिशत मात्रै रोपाइँ भएपनि असारको अन्तिम समयमा पानी पर्दा साउनको पहिलो साता ५५ प्रतिशत अर्थात ७ हजार ३ सय ५९ हेक्टर क्षेत्रफलमा रोपाइँ भएपनि साउन महिना सकिनै लाग्दा रोपाइँ पनि सकिन्न लागेको कृषि ज्ञान केन्द्र उदयपुरका प्रमुख सरोजकान्त अधिकारीले बताए । अन्य वर्षको तुलनामा यो रोपाइँ ढिलो भएपनि पछिल्लो चरणको पानीले ९५ प्रतिशत रोपाइँ सम्पन्न भएको बताए । जिल्लामा १४ हजार २५० हेक्टर जमिनमा धान खेती गरिंदै आएको कृषि ज्ञान केन्द्र उदयपुरले जनाएको छ । असार र साउन रोपाइँका लागि उपयुक्त समय मानिए पनि सिँचाइको सुविधा नहँुदा कृषक धूलो माटोमा खेत जोत्न बाध्य भएका थिए । जिल्लाको रामपुर, हडिया, बसाहा, तपेश्वरी, जोगिदहलगायत त्रियुगा नगरपालिका क्षेत्रका अन्न भण्डार मानिने पटाङ्गिनी खेतको फाँट यस वर्ष समयमै पानी नपरेका कारण रोपाइँ ढिलो भएको हडियाका किसान नन्दीलाल चौधरीले बताए ।
ताप्ली, लिम्चुङबुङ, कटारी नगरपालिकाको केही वडा र रौतामाई गाउँपालिकाको दुई वटा वडामा लामो खडेरीले मकैको उत्पादनमा कमी आउने केन्द्र प्रमुख अधिकारीले बताए ।









