उदयपुर । उदयपुर जिल्लाको ताप्ली र लिम्चुङबुङ गाउँपालिकामा भएको खाद्यान्न संकट न्यूनीकरण गर्न राहतस्वरुप बिहीबारबाट खाद्यान्न सामग्री त्यस ठाउँमा पठाउन शुरु गरिएको छ । प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिले नेपाली सेनाको हेलिकप्टरमार्फत प्रदेश नं.१ को राजधानी विराटनगरबाट खाद्यान्न पठाएको हो ।
गृह मन्त्रालयले उपलब्ध गराएको नेपाली सेनाको हेलिकप्टरबाट विहिबार दिउँसो विराटनगर विमानस्थलबाट खाद्यान्न ओसारिएको छ । बाढी पहिरोका कारण ताप्ली र लिम्चुङबुङ गाउँपालिकालाई जोड्ने सडकहरु अवरुद्ध भएका कारण सडकमार्गबाट त्यहाँ खाद्यान्न ढुवानी हुन नसकेपछि उत्पन्न भएको खाद्यान्न संकट न्युनिकरण गर्न हेलिकप्टरबाट खाद्यान्न पठाइएको हो ।
बाढी पहिरोका कारण अवस्था जटिल भएपछि लिम्चुङबुङ गाउँ कार्यपालिकाले गत असार ३१ गते गाउँपालिकालाई खाद्य संकटग्रस्त घोषणा गरेको थियो । दुवै गाउँपालिकाहरुले खाद्यान्नको संकट सृजना भएको जानकारी गराएपछि आकस्मिकरुपमा बसेको प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकबाट ती क्षेत्रमा राहतस्वरुप खाद्यान्न पठाउने निर्णय भएको प्रदेश १ नं. का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले जानकारी दिए ।
७ दिनका लागि आवश्यक पर्ने ७ सय क्वीन्टल चामल तथा अन्य खाद्यान्नको व्यवस्थापन गरिएको छ । लिम्चुङबुङका लागि बोकेको खाद्यन्न रुपाटारमा पुर्याइएको जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले जानकारी दिए । ताप्लीमा पहिलो पटक २ हजार १० केजी चामल, १ सय ८० केजी रहरको दाल, १ सय २० लिटर तेल र १ सय ५० केजी चामल लगिएको छ । दोस्रो पटक एक हजार ८ सय ९० केजी चामल, ३ सय ९० केजी दाल, सय केजी नुन र एक सय ३० लिटर तेल पुर्याइएको हो । दुई पटक ताप्लीमा खद्यन्न पुर्याइएको हो ।
प्रदेश विपद् व्यवस्थापन समितिको बैठकको निर्णयअनुसार दुवै गाउँपालिकामा खाद्यान्न ढुवानीका लागि ७ सय क्विन्टल चामल, ७० क्विन्टल दाल, ७० क्विन्टल नुन, ७ हजार लिटर खाने तेल लान संघीय सरकरले हेलिकोप्टर उपलब्ध गराएको हो ।
उदयपुर सदरमुकाम गाईघाटबाट ७५ किलोमिटर बढी दुरीमा रहेको लिम्चुङबुङ गाउँपालिकालाई जोड्ने सबै बाटाहरु अवरुद्ध भएपछि खाद्यान्न संकट उत्पन्न भएको गाउँपालिका प्रमुख मेजर कुमार राईले जानकारी दिए । उनले एक वर्ष बढी लामो खडेरीपछि असार २६ बाट सुरु भएको लगातार बर्षाका कारण पहिरो खसेर सडकहरु अवरुद्ध भएका कारण खाद्यान्नको चरम संकट सृजना भएको बताए ।
यसअघि त्यहाँका व्यापारीहरुले गाईघाटबाट खाद्यान्न लगेर बेच्ने गरे पनि त्यो अवस्था नरहेको उनको भनाइ छ । लिम्चुङ गाउँपालिकामा मात्र २६ सय घरधुरी खाद्यान्न संकटमा रहेको उनले बताए । वर्ष दिनको खडेरीका कारण किनेर खानसक्ने हैसियत भएका व्यक्तिहरुले समेत अन्न किन्न नपाएको उनले जानकारी दिए ।
खाद्यान्न लिनको भिड
दुई सातादेखि खाद्यान्न अभाव झेल्दै आएका ताप्लीप्का सर्वसाधरण पहिलो पटक खाद्यान्न लिन जम्मा भएका थिए । रुपाटारमा झण्डै १ हजारको संख्यामा लिन आउनेको भिड लागेको गाउँपालिकाका अध्यक्ष उद्धबसिंह थापाले बताए ।

तपाईको प्रतिक्रिया