उदयपुर । उदयपुरमा गाई बाख्रालाई रेविज विरुद्धको खोप लगाएका छन् । उदयपुरगढी गाउँपालिका २ का तीन पशुपालक किसानको गाई, बाख्रा, बाछी र पाडीलाई कुकुरले टोकेपछि रेविज विरुद्धको खोप लगाई दिएका छन् ।
उदयपुरगढी गाउँपालिका २ आलेडाँडाका पशुपालक किसान मदन आलेको गाई र दुहुना बाछीलाई गत शुक्रबार बहुला कुकुरले टोकेको थियो । कुकुरले टोकेपछि आइतबार मात्रै गाई र दुहुना बाछीलाई रेविज विरुद्धको खोप लगाई दिइएको उदयपुरगढी पशु शाखा प्रमुख शेखर कार्कीले बताए । उनका अनुसार पुजारी टारमा विश्वराज ढुंगानाको पाडी र बाछीलाई कुकुरले टोकेको छ भने माङ्सिटार घट्टामा खम्ब बहादुर आयोमगरको बाख्रालाई कुकुरले टोकेपछि रेविज विरुद्धको खोप लगाएको बताए ।
गाई, पाडा, बाछी तथा बाख्रालाई पाँच डोज खोप लगाउनु पर्ने कार्कीले बताए । खोपको व्यवस्थापन पशु शाखाले गरेको जनाए ।
विगतका दिनमा करिव चार सयसम्म गाई, भैसी, बाख्रा लगायतलाई बहुला कुकुरले टोकेर उपचार गरिएको बताए । विगतका वर्षहरुमा कुकुरलाई रेविज विरुद्धको सप्ताह व्यापी खोप लगाउने कार्यक्रम भएपनि स्थानीयको न्यून सहभागिताले बहुला कुकुरको जगजगी बढेको बताए । गत वर्ष उदयपुरगढी गाउँपालिका ३ मा एकै ठाउँमा १० जना मानिसलाई कुकुरले टोकेरकोमा तीन जना गम्भिर घाइते भएका थिए ।









