उदयपुर । नेपाली कांग्रेस प्रदेशसभा अधिवेशनको निर्वाचनमा उदयपुरको प्रदेश नं. २ (क) मा मतपत्र च्यातिएको छ भने तीन ठाउँको मतपरिणाम सार्वजनिक भएको छ ।

उदयपुरगढी गाउँपालिका नेपालटारमा मतगणनाको क्रममा गणनास्थल भित्रै विवाद उत्पन्न भएपछि २८ वटा मतपत्र च्यातचुत भएको हो ।
प्रदेशसभा अधिवेशनका लागि सो क्षेत्रमा खेसबहादुर मगर र मोहनसेर राई नेतृत्वको प्यानलबीच निर्वाचन भएको थियो ।

३३० पोलिङ मत मध्ये २८ वटा मतपत्र च्यातिएपछि सो ठाउँको मतगणना स्थगित भएको छ । सो केन्द्रका सभापति उम्मेदवार खेसबहादुर मगर र मोहनसेर राईकै उपस्थितिमा विवाद उत्पन्न भएको बुझिएको छ । विवाद मतपत्र च्यात्नेसम्मको अवस्थामा पुगेपछि दुई खेमाबीच ठूलो झडप निम्तिन नदिन तत्काल स्थगित गरिएको थियो ।

सभापतिका उम्मेदबार मगर उदयपुरगढी गाउँपालिका ४ मावि जल्केनीका प्रधानाध्यापक हुन भने राई नेका निकट आदिवासी जनजाति संघ उदयपुरका अध्यक्ष हुन् ।

उदयपुरको सदरमुकाम रहेको प्रदेस सभा १ (ख) को निर्वाचनमा सरोज बस्नेतसँग त्रियुगा नगरपालिकाका उपमेयर देवी कुमारी चौधरी ११ मतको अन्तरले पराजित भईन् । उपमेयर चौधरीले १८२ मत ल्याईन भने बस्नेतले १९३ मत ल्याएर विजय भए ।

यस्तै प्रदेश नं. १ (क) को निर्वाचनमा अर्जुन दाहाल विजय भएका छन् । उनले १६१ मत प्राप्त गरेका थिए भने निकटतम प्रतिद्धन्द्धी जय सुवेदीले १५३ मत ल्याएका थिए ।

यस्तै प्रदेश सभा २(ख) मा कृष्ण थापा विजय भएका छन् । उनले १७९ मत ल्याएर विजय भएका छन् । उनका प्रतिद्धन्द्धी रामबहादुर पोखरेल १२५ मत ल्याएका थिए ।

तपाईको प्रतिक्रिया