रगत पसिनाले सिंचीत माटोमा

अङ्कुरित बिज हुर्काउँदै,

पल्लवित लोकतन्त्रको वृक्षमा

गणतन्त्रको रङ्गीचङ्गी फूल फुलाएर

वीरताको अमर गाथा कोरेकाहरु,

परिबर्तनको प्रतिफलबाट बन्चित भएर

बाँचिरहेछन् ,

गुमनाम जिन्दगी !

जीवनोपयोगी शिक्षाबाट ठगिएर

मुकुन्द कृष्ण थापा, खोटाङ

व्यापारिकरणको नङ्ग्राले चिथोरिएर

ठालुहरुको होच्याइबाट थलिएर

थिलथिलो भएका पाठशालाहरुले

जन्माइरहेछन् ,

बेरोजगार बहादुर र कान्छाहरु ।

पुर्णीमालाई लखेटेर

औँसीले साम्राज्य गरिरहेको आधा आकाशमा

झलमलाई रहेछन् ,

पितृसत्तात्मक सोचका ताराहरु ।

असमानताको कालोपत्रे बिछ्याउँदै

एउटै पाङ्ग्राले रथ हाँकिरहेछन् ,

एक्काइसौँ शताब्दीका अर्जुनहरु ।

पहिचान लुकाउनेहरुको विवशता देखेर,

सिर निहुराउँदै मानवता झोक्राइरहेछ ।

आफैँले सजाएका मन्दिर महलहरु हेर्दै,

छुवाछूतले फाटेका मन सिलाउने मेसिन

आविष्कार नहुनुका कारणहरु,

खोजिरहेछन् आरनहरु ।

सङ्कीर्णताको माला भिरेर

अहङ्कारको टीका लगाएर

ठूलो हुने होडबाजीको मृगतृष्णामा दौडिँदै

शीतयुद्धमा भाग लिइरहेछन् ,

धर्मका अनुयायीहरु ।

हुरी बतास र बर्षादसँग

आत्मासमर्पण गरिरहेछन् ,

चिसो चुल्हो बोकेका श्रमजीवीका वासस्थानहरु ।

वर्गीय उत्पीडनका खाडलहरु गहिर्‍याउँदै

बगिरहेछन् निरन्तर,

भोकको आगोलाई निभाउन नसकेका

अभावलाई बगाउन नसकेका

पसिनाका नदिहरु ।

सुशासनको रटानले तिर्खाएर

धारा उपधाराहरुले

प्यास मेटेकाहरु सामुन्ने

ठडिरहेछन् प्रश्नका सगरमाथाहरु

आखिर,

किन हटेनन् अझै बिभेदहरु ???

(लेखक :सिभिल इन्जिनियर हुन् । उनी साहित्य क्षेत्रमा समेत कलम चलाउँछन् )

थप कविता

मानवता

तपाईको प्रतिक्रिया