जुम्ला – गत जेष्ठ २० मृत्यु भएका डोल्पाका एक पुरुषमा कोरोना भाइरस (९कोभिड–१९) संक्रमण पुष्टि भएको छ । जगदुल्ला गाउँपालिका ३ का ५८ वर्षिय पुरुष लामो समयदेखि दमका रोगी भई १६ गते सुर्खेतबाट डोल्पा फर्कने क्रममा बाटोमै मौरे भन्ने ठाउँमा गम्भीर बिरामी परेका थिए ।
१८ गते डोल्पा पुगेपछि उनको आरडीटी परीक्षण गरिएको थियो । आरडीटी रिपोर्ट नेगेटिभ आएपछि घर लगिएका उनको २० गते मृत्यु भएको थियो ।
मृत्युपछि संकलन गरिएको पीसीआर परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लाका निर्देशक डाक्टर मंगल रावलले जानकारी दिए ।
उनको रिपोर्ट पोजिटिभ आएपछि ३ नम्बर वडा र गाउँपालिकालाई सिल गरिएको जगदुल्ला गाउँपालिकाका अध्यक्ष नारासिं रोकायले बताए । उनको सम्पर्कमा आएकाहरुको पीसीआर परीक्षण गरी रिपोर्ट नआएसम्म सिल गरिराख्ने अध्यक्ष रोकायले बताए ।
अध्यक्ष रोकायले अब २ हजारदेखि २ हजार ५ सय जनाको स्वाब संकलन गरेर परीक्षण गर्नुपर्ने अवस्था रहेको जानकारी दिए । मृतक पुरुषको दाहसंस्कारमा गाउँले, वडावासी र अरु छिमेकी वडावासीसमेत सहभागी भएको भए पनि सुरक्षा सतर्कता अपनाएर दाहसंस्कार गरिएको बताइएको छ । स्वाब संकलनका लागि जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनुरोध गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले २ वर्षदेखिका दीर्घ रोगी रहेका ती पुरुषको कोरोना संक्रमण पुष्टि भएपछि उनको सम्पर्कमा रहेकाहरुको ट्रेसिङको काम भइरहेको बताए । सुर्खेतमा उपचाररत ती पुरुषसँग फर्किएका अरु सबै क्वारेन्टाइनमा रहेको सुनारले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया