झापा– झापामा बिहीबार थप १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ थपिएका सबै संक्रमित झापाको कचनकवल गाउँपालिकाका हुन्।
विराटनगरमा रहेको प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा उनीहरुमा कोरोना पोजेटिभ देखिएको हो।
भारतबाट लुकीछिपी नेपाल पसेका उनीहरु सबै क्वारेन्टाइनमा बसेकाहरु हुन्। भारतबाट आएका उनीहरुलाई सिधै क्वारेन्टाइनमा राखिएको थियो।
यससँगै झापामा मात्रै कोरोना संक्रमितको संख्या ३५ पुगेको छ। जसमध्ये दुई जना निको भएर डिस्चार्ज भइसकेका छन्।
प्रदेश नं. १ मा संक्रमितको संख्या ८४ पुगेको छ । त्यसमा उदयपुरमा ३३, धनकुटामा ७, मोरङमा ४, सुनसरीमा ३, भोजपुरमा १ र खोटाङमा १ जनामा कोरोना देखिएको हो ।

तपाईको प्रतिक्रिया