काठमाडौं । अद्यावधिक विवरण अनुसार झापामा एकै दिन १५ जनामा कोरोना पूष्टि भएको छ । त्यहाँ बुधबार विहान ५ जना र बेलुका १० जनामा कोरोना पुष्टि भएको प्रदेश १ को कोरोना इन्फर्मेशन डेस्कले जनाएको छ ।
कचनकवलमा अप्रत्यासित रुपमा संक्रमित बढेपछि प्रदेश १ का कोरोना संक्रमितको संख्या ७६ पुगेको हो । झापामा संक्रमितको संख्या २७ पुगेको छ । जसमध्ये कचनकवलका मात्रै २५ जना छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार थपिएका १५ जना कचनकवल गाउँपालिकाको वडा नम्बर ३, ६ र ८ का बासिन्दा रहेका छन् ।
बुधबार प्रदेश १ मा एकै दिन १७ जनामा कोरोना पूष्टि भएको हो । धनकुटामा १ र धरानमा १ जनालाई कोभिड—१९ पुष्टि भएको थियो ।
यसअघि संक्रमण पुष्टि भएका १० जनापनि कचनकवलकै थिए । यसअघि झापाको दमक र बार्हदशीमा गरी थप १-१ जनामा कोरोना पुष्टि भएको थियो ।
झापाका दुईजना भने कोरोनामुक्त भएर विराटनगरस्थित कोभिड १९ उपचार केन्द्रबाट डिस्चार्ज भइसकेका छन् । प्रदेश १ मा कोरोना परीक्षणको दायरा बढेका कारण संक्रमितको संख्या बढ्दै सरकारको दाबी छ ।
प्रदेश १ मा ७ जिल्लामा कोरोना संक्रमित देखिएका छन् । जसमध्ये उदयपुरमा ३३, झापामा २७, धनकुुटामा ७, मोरङमा ४, सुनसरीमा ३, खोटाङमा १ र भोजपुरमा १ जना पोजेटिभ छन् ।
बुधबार उदयपुरका ३ जना स्थानीय र ५ भारतीय जमातिसहित ८ जनाको डिस्चार्ज हुँदा कुल डिस्चार्ज हुनेको संख्या प्रदेश १ मा २६ पुगेको छ । जिल्लागत रुपमा डिस्चार्ज हुनेमा उदयपुरमा संक्रमित भएका २३ जना, झापाका २ जना र भोजपुरका १ जना रहेका छन् ।

तपाईको प्रतिक्रिया