उदयपुर । विराटनगरस्थित कोशी कोभिड १९ उपचार केन्द्रमा उपचाररत कोरोना भाइरस संक्रमित एक जना डिस्चार्ज भएका छन् ।
उदयपुरको त्रियुगा नगरपालिकास्थित भुल्केको एक मस्जिदमा गत वैशाख ५ गते थ्रोट स्वाब संकलनपछि गरिएको परीक्षणमा कोरोना संक्रमित देखिएका भारतीय युवक उपचारपछि बिहीबार अपराह्न डिस्चार्ज भएका हुन् ।अस्पतालमा सबैको व्यवहार र उपचार राम्रो रहेको बताएका २५ वर्षीय मोहम्मद अदुबकर सुल्तानले केन्द्रमा रहेका अन्य उपचाररतलाई स्वास्थ्य लाभको शुभकामना दिएका थिए ।
डिस्चार्जका क्रममा कोभिड १९ उपचार केन्द्रका संयोजक ज्ञानबहादुर बस्नेतले सुल्तानलाई विराटनगरको रानीस्थित मरकजको क्वारेन्टाइनमा राखिएको जानकारी दिए ।
संयोजक बस्नेतका अनुसार सुल्तान डिस्चार्ज भएसँगै प्रदेश एकबाट डिस्चार्ज हुनेको संख्या १७ पुगेको छ । यसअघि तीन पटक क्रमशः ६, ८ र २ जना गरी १६ जना डिस्चार्ज भइसकेका छन् ।

तपाईको प्रतिक्रिया