उदयपुर । कोरोना भाइरसको संक्रमण पुष्टि भएका सप्तरी डाक्नेश्वरी नगरपालिलका ३ का १८ वर्षीय युवा चितवनबाट आएको खुलेको छ । उनलाई कोरोना संक्रमण भएको सोमबार स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।
संक्रमित युवा सहित १३ जना वैशाख ९ गते चितवनबाट ट्रकमा सप्तरी आएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिए ।
उनीहरुलाई सप्तरी नगरपालिकाकै क्वारेन्टाइनमा राखिएको थियो । चितवनबाट आएका १८ वर्षीय युवामा कोरोना संक्रमण पुष्टि भएपछि युवासँगै आएका अन्य व्यक्तिहरु सहित उनका परिवारजनको स्वाब संकलन गर्ने काम सुरु गरिएको छ ।
संक्रमण पुष्टि भएका युवालाई उपचारको लागि सप्तरीको गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालको आइशोलेसनमा लगिएको निमित्त प्रमुख यादवले बताए । उनका अनुसार ट्रकबाट आएका १३ जना मध्ये ७ जनाको स्वाब परीक्षण हुँदा एक जनाको पोजेटिभ र ६ जनाको रिपोर्ट नेगेटिभ आएको थियो । अन्य ६ जनाको परीक्षण हुन बाँकी रहेको छ । संक्रमित युवा चितवनको सौराहाको गबइमा लेबरको रुपमा काम गर्दै आएका थिए ।
संक्रमित युवाको सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङको काम भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया