उदयपुर । कोरोना संक्रमणको इपिसेन्टर बनेको त्रियुगा नगरपालिका ३ भुल्केमा थप दुई सय दुई जनाको थ्रोट स्वाब संकलन सोमबार गरेको छ । ८८ पुरुष र एक सय ३२ महिलाको स्वाब संकलन गरेको हो । भने आइतबार पनि ५३ जनाको स्वाव संकलन गरिएको थियो ।
दुवै दिनको स्वाब परिक्षणका लागि काठमाडौं पठाएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले बताए ।
जिल्ला जनस्वास्थ्य कार्यालय उदयपुरबाट खटिएको स्वास्थ्यकर्मी प्राविधिक टोलीले भुल्केका स्थानीयहरुको नमुना स्वाव संकलन गरेको हो । गत वैशाख २४ गते भुल्के संक्रमित समुदायमा गरिएको दोस्रो पटकको परिक्षणमा चार महिलामा संक्रमित देखिएको थियो । त्यसपछि स्थानीयको स्वाव परिक्षणलाई तिब्रता दिइएको छ ।
भुल्केमा संक्रमण समुदायमा फैलिएको छ या छैन बारे यकिन गर्न अन्य समुदायको स्वाब संकलन गरिएको प्रमुख सुवेदीले जानकारी दिए । उनले संकलित स्वाब विराटनगर पठाईसकिएको जानकारी दिए ।
यस्तै गत शुक्रबार संकलित एक सय ४३ जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । उक्त स्वाब संक्रमित क्षेत्र वरिपरिको बासिन्दाको रहेको जनाएको छ । यसअघि संक्रमित समुदायको परिवारमा दोस्रो पटक स्वाब संकलन गरेको ४ महिलामा संक्रमण देखिएको थियो । यसअघि दुई महिलासहित २८ जनामा कोरोना संक्रमण देखिएको थियो । जसमा १४ जना कोशी कोरोना विषेश अस्पतालबाट डिस्चार्ज भएर क्वारेन्टाइनमा छन् ।
यस्तै जिल्ला समन्वय समिति उदयपुरका लकडाउन खुकुलो पार्ने निर्णय गरेसँग गाईघाट, कटारी, बेल्टार बजार लगायतमा चहलपहल बाक्लिदै गएपछि स्थानीयहरु त्रसित बनेका छन् ।

तपाईको प्रतिक्रिया