उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्के नुरी मस्जिद वरिपरि रहेका थप तीन स्थानीयमा कोरोना संक्रमण भएको छ । संक्रमित मध्ये उदयपुरको भुल्के निवासी १८, ४५ र ६५ वर्षीया महिला छन् । योसँगै उदयपुरमा कोरोना संक्रमितको संख्या ३१ पुगेको छ । गत बुधबार संक्रमित परिवार सहित अन्य गरी ३ सय ३४ जनाको दोस्रो पटक थ्रोट स्वाब नमूना संकलन गरेर कोशी अस्पताल विराटनगर र विपी कोइराला विज्ञान प्रतिष्ठान धरान पठाइएको थियो ।
शनिबार विहानसम्मको रिपोर्टमा तीन जना महिला संक्रमित भएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहनप्रसाद सुवेदीले जानकारी दिए ।  स्रोतका अनुसार भुल्केका करिव १०० जनाको रिपोर्ट आउन बाँकी रहेको जनाएको छ ।
यस्तै कपिलवस्तु र पर्सा गरी शनिबार थप ४ जनामा कोरोना संक्रमण पूष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीका अनुसार कोशी अस्पताल विराटनगर र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणबाट नयाँ संक्रमित भेटिएको पूष्टि भएको हो ।
संक्रमितहरु मध्ये कपिलवस्तुका १७ १८ र १८ वर्षीय युवक र पर्षाको छपकैया निवासी ६२ वर्षीय पुरुष हुन् । नयाँ संक्रमित सवैको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया