उदयपुर । कोरोना भाइरसको संक्रमण जितेका थप ८ जना संक्रमितलाई आज शुक्रबार  विराटनगरको कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रबाट डिस्चार्ज भएको छ । स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएपछि उपचाररत संक्रमित मध्ये ७ नेपाली र एक भारतीय गरेर ८ जनालाई डिस्चार्ज दिइएको छ । शुक्रबार डिस्चार्ज हुनेमा भुल्केकै एक महिलासहित ५ जना, भारतीय जमाति १ जना र विराटनगरका २ जना रहेको छ ।
डिसचार्ज हुनेहरुमा भुल्केका २० वर्षीय अजाद आलम, १८ वर्षीय मोहमद् इमरान आसुद, १८ वर्षीय परबेज आलम, ४१ वर्षीय मुख्तार मियाँ र ५५ वर्षीया रौसना खातुन छन् । त्यसैगरी विराटनगर १७ का ७२ वर्षीय आइमुन मियाँ, ६० का इजरायल मियाँ र २४ वर्षीय भारतीय जमाति मो.आदिल छन् ।
डिस्चार्ज भएकामध्ये ७ जना पुरुषलाई विराटनगरस्थित रानी मस्जिदमा क्वारेन्टाइनमा राखिने र एक महिलालाई भने उदयपुर नै पठाउने तयारी गरेको कोसी अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा संगीता मिश्राले बताइन् ।
डिस्चार्ज भएका भुल्केका ५ जनाले भने सवैजनालाई उदयपुर नै पठाउन माग गरेका छन् । उनीहरुले आफूहरु घरैमा क्वारेन्टाइनमा बस्ने भन्दै विराटनगरको क्वारेन्टाइन नराख्न सरकारसँग आग्रह गरेका छन् ।
यस अघि बुधबार पहिलो पटक ६ जना भारतीय नागरिकलाई डिस्चार्ज गरिसकिएको छ । प्रदेश नं. १ मा डिस्चार्ज हुनेहरु सवै उदयपुरको नुरी मस्जिदमा बस्दै आएका जमाती र स्थानीयहरु हुन् ।  भुल्केमा १६ जमातीसहित २८ जनामा कोरोना देखिएको थियो ।

तपाईको प्रतिक्रिया