उदयपुर । उदयपुरको कटारी नगरपालिका ४ मरुवाबाट सोलुखुम्बु गएकी एक महिलाको र्यापिड डाईनोष्टिक टेस्ट (आरडिटी) पोजिटिभ देखिएको छ । सोलुखुम्बु सोताङकी २८ वर्षिय महिलामा गरिएको आरडिटी परिक्षणको रिपोर्ट पोजेटिभ देखिएको हो ।
एकs हप्ता अघि आफ्ना परिवारका ६ सदस्य सहित उदयपुरबाट सोलुखुम्बु सोताङ गएकी थिईन् । ति महिलामा बुधबार गरिएको कोरोना टेस्टमा रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय सोलुखुम्बुले पुष्टि गरेको छ । उनलाई अहिले प्राथमिक स्वास्थ्य केन्द्र सोताङमा निर्माण गरिएको आईसोलेसन वार्डमा राखिएको स्वास्थ्य कार्यालयका प्रमुख कर्मचन्द राजवंशीले जानकारी दिए ।
कोरोना संक्रमणको उच्च जोखिममा रहेको उदयपुरको कटारी नगरपालिका ४ मरुवाबाट आएका उनीहरुलाई स्थानीय सरकारले निर्माण गरेको क्वारेन्टाइनमा राखिएको इलाका प्रशासन कार्यालय सोताङका प्रमुख विनोद गौतमले जानकारी दिए । बुधबार गरिएको टेष्टमा पोजेटिभ रिर्पोट आएपछि उनको स्वाब संकलनका लागि जिल्लाबाट प्राविधिकको टोली पठाउने तयारी गरिएको छ ।
स्वास्थ्य कार्यालयका प्रमुख राजवंशीका अनुसार ति महिलाको उपचारमा संलग्न स्वास्थ्यकर्मी, उनका परिवारका सदस्य र नियमित भेटघाटमा आएका उनका आफन्त पहिचान गरेर सम्पूर्णको स्वाब संकलन गर्ने गरि योजना बनाईएको छ ।
यसअघि लिखुपिके गाउँपालिकामा एक जनाको आरडिटी रिपोर्ट पोजेटिभ आएको थियो । ति युवाको स्वाब संकलनका लागि बुधबार सल्लेरीबाट प्राविधिकको टोली लिखुपिके प्रस्थान गरेको छ ।
यस विषयमा कटारी नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठले आरडिटी रिपोर्ट पोजिटिभ आएपनि कटारीबासी आतिनु पर्ने अवस्था देखिदैन । उनका अनुसार पिसिआर रिपोर्ट नआएसम्म त्यहाँका स्थानीय तथा नाता गोतालाई अन्य व्यक्तिसँग सम्पर्क तथा बाहिर नजान अनुरोध गरिएको छ । उनी बैशाख ११ गते कटारीबाट सोलुखुम्बु गएकी थिईन् ।

तपाईको प्रतिक्रिया