उदयपुर । कोरोना संक्रमणको इपिसेन्टर बनेको भुल्केमा संक्रमित परिवारका सदस्य लगायत अन्य गरी १ सय ७० जनाको बुधबार दोस्रो पटक स्वाब संकलन गरिने भएको छ । भुल्केमा बैशाख ५ गतेदेखि ९ गतेसम्मा २८ जनामा संक्रमण देखिएपछि संक्रमित परिवारको साथै अन्यको पुनः स्वाब संकलन गरिने भएको हो ।
विश्वव्यापी मान्यता अनुसार संक्रम शरिरमा प्रवेश गरेपछि १४ दिनपछि मात्रै भाइरस देखा पर्ने भएकाले संक्रमित परिवारका सदस्यहरुको साथै अन्यको पनि स्वाब संकलन गरिने जिल्ला स्वास्थ्य कार्यालय उदयपुुरका प्रमुख मोहनप्रसाद सुवेदीले जनाएको छ । कोरोना संक्रमित सहित ५७ परिवारका सदस्य लगायत अन्य गरी १ सय ७० जनाको स्वाब संकलन गरिने बताए । पुनः संकलन गरिएको स्वाबले नै सामुदायमा कोरोना भाइरस फैलिएको वा नफैलिएको पत्ता लाग्ने उनले बताए ।
यस्तै उदयपुरमा पहिलो पटक कोरोना भाईरस (कोभिड–१९) संक्रमित १३ जनाको दोस्रो पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । वैशाख ५ गते पहिलो संक्रमित पुष्टि भएर कोरोना अस्पताल विराटनगरको आईसोलेसनमा उपचाररत त्रियुगा नगरपालिका ३ भुल्के नुरी मस्जिदका उनीहरुको १४ दिनपछि गरिएको पिसिआर रिपोर्ट नेगेटिभ आएको हो ।
संक्रमितहरूमध्ये पहिलो चरणमा भर्ना भएका उदयपुरका १३ जनाको शुक्रबार स्वाबको नमुना संकलन गरी परीक्षण गरिएको थियो । सोमबार पुनः दोस्रो पटक परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा विभाग प्रमुख सुरेश महत्तोले जानकारी दिए ।
भुल्केमा वैशाख ५ देखि ९ गतेभित्र परीक्षण गर्दा २८ जना संक्रमित फेला परेपछि सिंगो उदयपुर त्रस्त बन्न पुगेको थियो । मस्जिदमा रहेका भारतीय जमातिमा संक्रमण पाइएपछि उनीहरुबाटै अन्यमा संक्रमण सरेको हुनसक्ने अनुमान गर्दै मस्जिद आसपास र अन्य मस्जिदक्षेत्र ‘कन्ट्याक्ट ट्रेसिङ’ का आधारमा पिसिआर परीक्षण गरिएको थियो । मस्जिदभन्दा बाहिर पहिलो चरणमा ६९ को परीक्षण गर्दा ८ जना संक्रमित भेटिएका थिए भने बाँकी ३ जमातिमा पनि संक्रमण पुष्टि भएको थियो । तेस्रो चरणमा संकलित २ सय ५२ मध्ये थप ३ जनामा देखिएसँगै भुल्केमा २८ जना संक्रमित पुष्टि भएका थिए ।

तपाईको प्रतिक्रिया