उदयपुर । जिल्लाको मुख्य कोरोना संक्रमित स्थान भुल्के आसपास ९१ जनाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।
त्रियुगा नगरपालिका ३ मोतिगडा आसपासका औषधि पसल, किराना पसल, ग्यास पसल तथा दुग्ध डेरी लगायतका व्यवसायीहरुको स्वाबको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहनप्रसाद सुवेदीले जानकारी दिए । मोतिगडा एरियामा भुल्केका संक्रमितहरुको चहल पहल तथा आउ जाउ गरेको आधारमा १२ जनाको स्वाब संकलन गरिएको छ ।
यस्तै त्रियुगा नगरपालिका वडा नं. ५ देउरीका ८ जना, वडा नं. ६ जलजले आसपासका मुस्लिम बस्तीका १२ जना, वडा नं. १० का ३ जना र वडा नं. ११ का ५ जनाको स्वाब रिपोर्ट नेगेटिभ आएको जनस्वास्थ्य अधिकृत सुवेदीले जानकारी दिए ।
यस्तै त्रियुगा नगरपालिका वडा नं. १२ बाट १६ जना र भुल्के आसपासका ८ जनाको थ्रोट स्वाबको रिपोर्ट नेगेटिभ आएको छ । सुरक्षा कर्मी ५ जना, फार्मेसीसहित स्वास्थ्यकर्मी १८ जना, देउरीमा बस्दै आएको सप्तरीका एक जना र अन्य गाईघाट बजारका दुई जनाको पनि स्वाब रिपोर्ट नेगेटिभ आएको छ ।
यस्तै कटारी नगरपालिका अन्तर्गतका चार जनाको रिपोर्ट पनि नेगेटिभ आएको छ
अहिलेसम्म जिल्ला भरी यस्तै आरडिटी मार्फत २ सय २२ जनाको परीक्षणमा सवैको रिपोर्ट नेगेटिभ आएको छ । भने पीसिआर प्रविधिबाट ६ सय ६५ जनाको स्वाब परीक्षण गरेकोमा २८ जनामा संक्रमित भेटिएको थियो । यस्तै पछिल्लो चरणमा भुल्केका ३३ जना, ताप्ली गाउँपालिकाका २ जना र बेलका नगरपालिका ७ मैनामैनीको ५ जनाको स्वाबको रिपोर्ट आउन बाँकी रहेको जनस्वास्थ्य अधिकृत सुवेदीले जानकारी दिए ।









