उदयपुर । कोरोना संक्रमण इपिसेन्टर बनेको त्रियुगा नगरपालिका ३ भुल्केमा थप ३३ जनाको थ्रोट स्वाव नमुना संकलन गरेको छ । यो सँगै त्रियुगा नगरपालिका भित्रमा तीन दिनमा १ सय २४ जनााको स्वाब संकलन गरेको छ ।
आइतबार ८३ जना, सोमबार ८ जना र मंगलबार ३३ जनाको स्वाब जिल्ला जनस्वास्थ्य कार्यालय उदयपुरबाट खटिएको स्वास्थ्यकर्मी टोलीले जिल्ला अस्पताल उदयपुरमा स्वाव नमुना संकलन गरेको हो ।
मंगलबार त्रियुगा नगरपालिकाको आग्रहमा थप ३३ थान स्वाब संकलन गरेको त्रियुगा नगरपालिका स्वास्थ्य शाखाका प्रमुख अवधनारायण चौधरीले जानकारी दिए । स्थानीयले संक्रमित स्थानका करिब ३ सय घर परिवारको सबैको कम्तिमा एक एक जनाको भएपनि स्वाव नमुना संकलन गरि परिक्षण गर्न माग गरिरहेको बेला क्रमिकरुपले परिक्षण थालिएको चौधरीले जानकारी दिए ।
यसअघि भुल्केबाट ३ सय ३६ जनाको परिक्षणबाट २८ जना संक्रमित फेला परेका थिए । थप ३३ जनाको स्वाब कोशी अस्पताल विराटनगर पठाइएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ भने ९१ जनाको स्वाबको रिपोर्ट बुधबार अवेरसम्म आउने जनाएको छ ।
भुल्केकै संक्रमितसंगको सम्पर्कको आधारमा उदयपुरको सिवाई, सुन्दरपुर र मोथियाहीबाट ७८ जनाको स्वाव परिक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

तपाईको प्रतिक्रिया