उदयपुर । जिल्लाको त्रियुगा नगरपालिका ३ भुल्केमा २८ जनामा कोरोना संक्रमण देखिएपछि परीक्षणलाई थप तिव्रता दिइएको छ । आइतबार त्रियुगा नगरपालिकाको विभिन्न वडा तथा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी गरी ८३ जनाको थ्रोट स्वाब संकलन गरेको छ ।
जिल्ला अस्पतालमा गरिएको स्वाव नमूना संकलनमा १४ महिला सहित ८३ जनाको गरिएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन प्रसाद सुवेदीले जानकारी दिए ।
त्रियुगा नगरपालिका ३ मोतिगडा आसपासका औषधि पसल, किराना पसल, ग्यास पसल तथा दुग्ध डेरी लगायतका व्यवसायीहरुको स्वाब नमूना संकलन गरिएको छ । मोतिगडा एरियामा भुल्केका संक्रमितहरुको चहल पहल तथा आउ जाउ गरेको आधारमा १२ जनाको स्वाब संकलन गरिएको छ ।
यस्तै त्रियुगा नगरपालिका ५ देउरीबाट पनि ८ जनाको स्वाब संकलन गरिएको छ । उनीहरु संक्रमितहरुसँग नजिक रहेको समुदायको मात्रै स्वाब संकलन गरिएको हो ।
यस्तै त्रियुगा नगरपालिका ६ जलजले आसपासका मुस्लिम बस्तीका १२ जनाको स्वाब संकलन गरिएको वडाध्यक्ष निर्मलकुमार चौधरीले जानकारी दिए । उनका अनुसार फागुनको पहिलो साता सप्तरीको बोदे बर्साइनमा भएको इज्तिमा अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी भएका र भुल्केका संक्रमितहरुको सम्पर्कमा आएकाहरुको स्वाब संकलन गरिएको बताए ।
त्रियुगा नगरपालिका १० बाट ३ जना र वडा नं. ११ का ५ जनाको स्वाब संकलन गरिएको छ । वडा नं. ११ मा एक व्यवसायीमा कोरोना संक्रमण देखिएपछि उनीसँग सम्पर्कमा आएको स्वाब संकलन गरिएको गरिएको छ ।
त्रियुगा नगरपालिका वडा नं. १२ बाट १६ जनाको स्वाब संकलन गरिएको छ । प्रायः भुल्केका संक्रमित र गाईघाट डिएम गेट बासीहरु विच सम्पर्क रहेकाहरुको पहिलो चरणमा स्वाब संकलन गरिएको वडाध्यक्ष जयविक्रम राईले जानकारी दिए । उनका अनुसार २० जनालाई स्वाब संकलन गर्न पठाएपनि पहिलो चरणमा १६ जनाको स्वाब संकलन गरेको उनले बताए ।
सुरक्षा कर्मी ५ जना, फार्मेसीसहित स्वास्थ्यकर्मी १८ जना, देउरीमा बस्दै आएको सप्तरीका एक जना र अन्य गाईघाट बजारका दुई जनाको पनि स्वाब गरिएको छ । संकलित स्वाब कोशी अस्पताल विराटनगर पठाईएको छ ।
भुल्केमा थप केहीको स्वाब संकलन गरिने त्रियुगा नगरपालकाका मेयर बलदेव चौधरीले जानकारी दिए । उनका अनुसार संक्रमितहरुसँगका केटाकेटी तथा आफ्न्तहरुसँग सम्पर्कमा रहेका थारु बस्तीका साथै पाहाडे समुदायका केही व्यक्तिहरुको साथै संक्रमितको परिवारको पुनःपरीक्षण गर्नु पर्ने बताए । नोवेल कोरोना भाइरसको संक्रमण भएको दुई हप्तापछि मात्रै लक्षण देखिने भएकोले संक्रमितको परिवार लगायत अन्यलाई पुनः परीक्षण गरिनु पर्ने जरुरी रहेको मेयर चौधरीले बताए ।
जिल्ला स्वास्थ्य कार्यालयमा ९५ वटा पीसिआर किट आएपनि अन्य किट इमरजेन्सीको लागि राखिएको स्वास्थ्य कार्यालले जनाएको छ । जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार उदयपुरमा ६ सय १५ जनाको स्वाब मध्ये २८ जनामा कोरोना पोजिटिभ र ५ सय चार जनाको रिपोर्ट नेगेटिभ आएको छ । पछिल्लो चरणमा संकलन भएको रिपोर्ट दुई दिन पछि मात्रै आउने छ ।

तपाईको प्रतिक्रिया