उदयपुर । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणपछि उच्च जोखिमा रहेको उदयपुरको त्रियुगा नगरपालिका– ३ भुल्केमा स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । त्रियुगा नगरपालिका र जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले भुल्केस्थित नुरी मस्जिदमा रहेका १२ भारतीय सहित १६ धर्म प्रचारकसँगै आसपासका २८ जनामा कोरोना संक्रमण पुष्टि भएपछि त्रसित स्थानीयको मनोबैज्ञानिक र स्वास्थ्य दुवै खाले उपचार गर्न शिविर राखिएको हो । जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. जीवनारायण मण्डल, अन्य मेडिकल अधिकृतहरु, अस्पतालकै मनोसामाजिक परामर्शकर्ता तथा स्वास्थ्यकर्मीहरुको टोली शिविरमा खटेको छ ।
नेपाली सेनाको १८ नं. बाहिनी अड्डाको फुटबल खेल मैदानमा दिउँसो १ बजेदेखि निःशुल्क औषधी सहितको स्वास्थ्य शिविर सुरु गरिएको नगर प्रमुख बलदेव चौधरीले जानकारी दिए । सिबिरमा रुघाखोकी, ज्वरो, झाडा पखालादेखि मानसिक उपचारसम्म सेवा उपलब्ध गराईएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहनप्रसाद सुबेदीले जानकारी दिए ।
गत बैशाख ५ गते भुल्केस्थित नुरी मस्जिदमा रहेका ११ भारतीय सहित १२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरुमा संक्रमण पुष्टि भएपछि मस्जिद आसपासका थप ३ य २० को स्वाब नमूना (पिसिआर) संकलन गरी परीक्षण गर्दा गत बुधबारसम्ममा संक्रमितको संख्या २८ पुगेको छ । संक्रमित बढेसँगै त्रसित बन्न पुगेका स्थानीयबासीहरुमा बिभिन्न खालका बिरामी देखिएकोले शिविर राखिएको नगर प्रमुख चौधरीको भनाई रहेको छ ।डा. मण्डलका अनुसार इमरजेन्सी सेवा मात्र दिने गरी शिविर राखिए पनि पुरै टोलबासीको घुईचो लागेको बताए । शिविरमा आएका स्थानीयलाई चिकित्सक टोलीले स्वास्थ्य परीक्षण गर्दै आवश्यक औषधि उपलब्ध गराई मानसिक तनाब व्यवस्थापन गर्न मनोविमर्शकर्ता मार्फत सकारात्मक परामर्श दिने काम भएको थियो । कोरोना संक्रमण ठुलो संख्यामा एकै स्थानमा देखिएपछि स्थानीय प्रशासनले सो स्थानमा सिल गरेर राखेको छ । शिविरमा सेवा लिन आउँने अधिकाश महिला र बालबालिका रहेका छन् । शिविरमा ७४ जना महिला ५२ बालबालिका तथा पुरुष सहित १ सय २६ जनालाई स्वास्थ्य सेवा दिइएको मेडिकल सुपरिटेण्डेन्ट मण्डलले बताए । बालबालिका बाहेक शिविरमा आउँने सबैको केहि दिन पहिले मात्रै पिसिआर प्रविधिबाट कोरोना परिक्षण गर्दा नेगेटिभ रिपोट आएको थियो । अस्तालमा कोरोना बाहेकका बिरामीहरुको नियमित चेकजाँच र स्वास्थ्य उपचारमा कुनै कमि नआएको र रक्तचाप, मधुमेह जस्ता बिरामीहरुलाई घरमै बसेर नियमित औषधी सेवन गर्न सल्लाह दिने गरेको तर महिला,बालबालिकाहरुको भने नियमित चोक जाँच हुदै आएको बताए ।

तपाईको प्रतिक्रिया