उदयपुर । कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएका भोजपुर हतुवागढी गाउँपालिका ६ होम्ताङका कोरोना संक्रमित २६ वर्षिय युवक उदयपुरको बेलका नगरपालिका ७ मैनामैनी ससुरालीमा चैत्र ७ गते आईपुगेका थिए । उनी ३० फागुनमा साउदी अरबबाट काठमाडौं आई सोही दिन रात्रीबस चढेर सुनसरीको झुम्का आए । त्यहाँबाट चतरा आए, जहाँ उनकी श्रीमती र छोरी बस्दै आएका थिए । चतरा, धरान, इटहरी लगायत स्थान पुगेर चैत्र ७ गते उदयपुर आई पुगेका थिए ।
उनी चैत्र ११ गते विहान ससुरालीबाट घर गएको बेलका नगरपालिका ७ का वडाध्यक्ष सुरेन्द्र राईले जानकारी दिए । उनलाई विदेशबाट आएको ४१ दिनपछि कोरोना संक्रमण देखियो । यससँगै उनमा देखिएको कोरोनादेखिएपछि ससुरालीमा रहेका श्रीमति, एक छोरी, ससुरा, सासु र जेठी सासुको छोराको कोरोना परीक्षण गरिएको वडाध्यक्ष राईले जानकारी दिए । वडाध्यक्ष राईका अनुसार पाँचै जनाको र्यापिड डाईनोस्टिक टेस्ट (आरडिटी) किट नेगेटिभ देखिएको छ भने थ्रोट स्वाब नमूना संकलन (पीसिआर) परीक्षणको लागि धरान पठाइएको छ । रिपोर्ट आउन बाँकी रहेको छ । संक्रमित भनिएको युवक यसअघि पनि रामपुरमै आरडिटी परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको वडाध्यक्ष राईले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायब उपरीक्षक नरबहादुर सलामी मगरका अनुसार संक्रमण देखिएका युवक फागुन ३० गते साउदीबाट काठमाडौं उत्रिएका थिए । त्यही दिन रात्रीबस चढेर सुनसरीको झुम्का आए । झुम्काबाट श्रीमति र छोरी भएको ठाउँ चतरा आए । डीएसपी मगर भन्छन्, ‘उनी ८ दिनसम्म त्यहीँ बसे, धरान, इटहरी, चतरा, झुम्कालगायत स्थानमा पुगे ।’
उनी श्रीमती र छोरीलाई लिएर उदयपुरको मैनामैनीस्थित ससुराली घर पुगे । चार दिन त्यहाँ बसेका उनीहरु ११ चैतमा मूलघर भोजपुर गएको पाइएको छ । गाउँमा पुगेपछि पनि भलिबल खेल्न तथा किनमेल गर्न बजार गएका थिए ।
उनीमा संक्रमणको लक्षण देखिएको थिएन । तर स्थानीय तहले विदेशबाट आएकाहरुको र्यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) गर्ने क्रममा तीन दिन अगाडि उनको पनि टेस्ट भयो । आरडीटीमा पोजेटिभ आएपछि उनको थ्रोट स्वाब संकलन गरेर धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएको थियो । र, बिहीबार साँझ पोजेटिभ रिपोर्ट आयो । ती युवा भोजपुर हतुवागढीकै आईसोलेसन वार्डमा राखिएका छन् ।
अब उनको कोरोना संक्रमणको स्रोत विदेश कि उदयपुर भन्ने प्रश्न उठेको छ । जिल्ला जनस्वास्थ्य प्रमुख फणिन्द्र कार्की भन्छन्, ‘उनी उदयपुरबाट आएको पनि एक महिना भइसकेको छ । त्यसबेला त्यहाँ उदयपुरमा पनि संक्रमण देखिएको थिएन । त्यसैले आयातित नै हो कि ?’

तपाईको प्रतिक्रिया