सप्तरी । सप्तरीको सप्तकोशी नगरपालिका वडा नं. १ फत्तेपुरमा एक जनामा र्यापिड टेष्टको रिपोर्टमा कोरोना पोजिटिभ देखिएको छ । मिर्गाैलाका बिरामी एक ७१ वर्षिय बृद्धलाई कोरोना भाइरस संक्रमणको आशंका गरिएको छ ।
जिल्ला जनस्वास्थ्य अधिकृत दुनिया लाल यादवका अनुसार शनिबार सप्तकोशी नगरपालिका वडा नम्बर १ मा ७४ जनाको र्यापिड टेस्ट गरिएको थियो । आरडिटीमा पोजिटिभ आएपछि बृद्धलाई सगरमाथा अस्पतालको आइसोलेशनमा राखिएको छ । उनको थ्रोट स्वाबको नमूना संकलन गरी थप परीक्षणका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको यादवले जानकारी दिए ।
आरडिटी टेस्टमा पोजेटिभ देखिएका बृद्ध नोवेल अस्पतालमा निरन्तर मिर्गौलाको डायलायसिस गराउँदै आइरहेकोले उनी हाई रिस्क (उच्च जोखिम) जोनमा रहेको उनले जानकारी दिए । त्यस्तै बृद्धसँगै जाँचको लागि ल्याइएका छोरा (मौलबी) र पत्नीलाई समेत अस्पतालको छुट्टै कोठामा राखिएको र उनीहरुको पनि परीक्षण गरिने जनस्वास्थ्य अधिकृत यादवले बताए ।
शुक्रबार उदयपुरमा भेटिएका १२ जना र शनिबार एक गरी १३ जना कोरोना संक्रमितसँग उनको पनि भेटघाट भएको बताइएको छ । १६ जनाको समूह सप्तरीको सप्तकोशी नगरपालिका १ फत्तेपुरमा विवाह समारोहमा पनि सहभागी भएका थिए । तर त्यहाँ लकडाउनले गर्दा भारतबाट जन्ती आउन सकेको थिएन ।
उदयपुरमा फेला परेका संक्रमित सप्तकोशी नगरपालिका ४ बरमझीया स्थित मस्जिदमा ७ दिन बसेकोले मस्जिदमा सबैको जाँच गर्ने तयारी भइरहेको छ ।









