सप्तरी । कोरोना भाइरसको सम्भावित संक्रमणलाई ध्यानमा राखेर सरकारले गरेको लकडाउनका कारण ज्यालादारी, मजदुर, किसान लगायत गरिब, विपन्न वर्गलाई अहिले खानपिनको समस्या भएको छ । सोही समस्यालाई केही हदसम्म समाधानका लागि प्रदेश सरकारले बजेट बिनियोजन गरि स्थानीय सरकारलाई राहत बितरण गर्ने निर्देशन दिएको छ ।तर, राहतको नाममा ठग्ने र झरो टार्ने काम पनि भएको छ । सप्तरीको सप्तकोशी नगरपालिका वडा नं. ५ गंगाजलीमा राहत बितरणको नाममा ३ किलो चामल, एउटा साबुन र आधा लिटर खानेतेल मात्र बितरण गरिएपछि स्थानियहरु आक्रोसित भएका छन् ।
उनीहरुको आक्रोस यति बढ्यो की लकडाउनको बेला सामुदायिक दुरी कायम राख्नु पर्ने कुराको समेत ध्यान नदिई बालबालिकाहरुले प्ले कार्ड बोकेर बिरोध प्रदर्शन गर्न पुगे । प्रदर्शनकै क्रममा प्रहरी पुगेपछि स्थानियहरुलाई सम्झाई बुझाई घर फर्काएको जनाइएको छ ।
यस विषयमा वडा अध्यक्ष दिपक चौधरीका अनुसार नगरपालिकाबाटै राहतका लागि यस्तै प्याकेज पठाइएकोले आफूहरुले केही गर्न नसकिएको बताए । जबकी सप्तरीमा अधिकांश स्थानिय तहले १५ किलो चामल, २ किलो दाल, एक लिटर खाने तेल र एक किलो नुन राहतका लागि बितरण गरिरहेका छन् । प्रदेश २ सरकारले महानगरपालिलाई २५ लाख, उपमहानगरपालिलाई २० लाख, नगरपालिकालाई १५ लाख र गाउँपालिकालाई १० लाख राहत बितरणका लागि बजेट प्रदान गरेको हो ।
विश्वभरि नै कोरोना भाइरसको संक्रमितहरु बढ्दै गइरहेको बेला नेपालले पनि सम्भावित त्यस्ता संक्रमणलाई ध्यानमा राखी पहिलो चरणमा चैत ११ गतेदेखी १८ सम्म, दोश्रो चरणमा १९ देखी २५ सम्म र तेश्रो चरणमा चैत २६ देखी २०७७ बैशाख ३ गतेसम्म लकडाउनको आह्वान गरेको हो । साभार : राजविराज दैनिक डट कमबाट

तपाईको प्रतिक्रिया