काठमाडौं । सरकारले लकडाउनका कारण काठमाडौं उपत्यकामा अलपत्र परेकाहरुलाई उपत्यका बाहिर जान दिने भएको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बसेको बैठकले भोलि र पर्सि बाहिर जान दिने निर्णय गरेको हो ।
११ चैतबाट लागू भएको लकडाउन लम्बिएपछि कतिपय मानिसहरु हिँडेरै गाउँ फर्किन थालेका छन् । विद्यार्थी तथा अनौपचारिक क्षेत्रमा काम गर्नेहरु गाउँ फर्किन चाहेका छन् ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङकाअनुसार काठमाडौं उपत्यकामा अलपत्र परेकाहरुलाई राजमार्गका विभिन्न स्टेशनहरुमा पुर्याइदिने निर्णय भएको छ ।
यस्तै अन्य जिल्लाबाट काठमाडौं भने आउन नपाइने बताइएको छ। गृह मन्त्रालयमा उनीहरुलाई कसरी पठाउने भन्नेबारे मोडालिटी तयार भइरहेको छ।
छोटो दुरीको हकमा कसरी जान दिने भन्ने तय भइसेको छैन । यसबारे गृह मन्त्रालयले गृहकार्य गरिरहेको एक अधिकारीले बताए ।
तर सम्भवतः एउटा पालिकालाइ एकमुष्ट गरेर पठाइनेछ र गाउँ पुगेपछि उनीहरूलाइ कसरी व्यवस्थापन गर्ने भन्ने निर्णय स्थानीय तहले गर्नेछन्।









