उदयपुर । सरकारी निकायबाट प्रभावकारी रूपमा आवश्यकता अनुसार बजार अनुगमन नहुँदा उदयपुरमा तरकारीको भाउ एकाएक महँगीएको छ । दशैं, तिहार र छठको अगाडिसम्म यदाकदा बजार अनुगमन गर्ने गरिएको भए पनि अहिले अनुगमन तथा कारबाही प्रक्रिया ठप्प भएका कारण पनि तरकारी व्यापारीहरुले मनपरि रुपमा तरकारीको मुल्य निर्धारण गर्दै विक्रि वितरण गरेको पाईएको छ ।
यति बेला बजारमा खाद्यान्न, तरकारी, फलफूल, माछा मासु लगायतका उपभोग्य वस्तुको बजारभाउ बढ्नुपर्ने कुनै कारण छैन । तरकारी उत्पादनमा कुनै समस्या नदेखिएपनि बजार मूल्य भने मनपरि छ । एउटै वस्तुको मूल्य ठाउँअनुसार फरक–फरक पाइन्छ ।
विना कुनै कारण तरकारीमा एकाएक मूल्यवृद्धि भईरहँदा सरोकारवाला निकायहरु भने मौन छन् । बजारमा क्रमिकरूपमा अस्वाभाविक तरिकाले मूल्यवृद्धि भइरहेको छ । यसलाई नियन्त्रण गर्न कोही लागिपरेको देखिँदैन । यसका कारण आमउपभोक्ता मर्कामा परेका छन् ।
यसरी बजारमा तरकारीको मुल्यमा मनपरि हुँदा आम उपभोक्ताहरुले गुनासो गर्न थालेका छन् । यस्तै बजारमा तरकारीको गुणस्तर समेत राम्रो नहुँदा सर्वसाधारण ठगिने गरेका छन् । धेरै दिन देखि स्टकमा राखिएका साग सब्जी, काउली, बन्दा, टमाटर, भाण्टा लगायतका तरकारीहरु आधाजसो सडेको अवस्थामा बेच्न राखिन्छन् ।
होटल सन प्रालिका संचालक शिव अधिकारीका अनुसार सब्जी मण्डीमा तरकारीको मूल्य दिन मै तीन खाले हुने गरेको बताए । विहान एउटा भाउँ, मध्यान्ह अर्को भाउँ र साँझ पख अर्को भाउँ हुने गरेको होटल संचालक अधिकारीले बताए । उनका अनुसार स्थानीय तरकारी व्यवसायी र सब्जी मण्डीमा रहेको तरकारी व्यवसायी विचमा नै मूल्यमा फरक पर्ने गरेको बताए ।
सरदमुकामर गाईघाटमा यतिबेला फुल काउली प्रतिकिलो ४० देखि ५०, बन्दा प्रतिकिलो ३० देखि ४०, बरकाउली १६० देखि १७०, आलु प्रतिकिलो ३० देखि ५० सम्मको लामो मुल्य अन्तरमा विक्रि हुने गरेको छ । यस्तैगरी सिमी प्रतिकिलो ११० देखि १२०, काक्रा प्रतिकिलो ६० देखि ७०, प्याज १२० देखि १४०, टमाटर प्रतिकिलो ९० देखि ११० रुपैयाँ सम्ममा विक्रि हुँदै आएको छ । यसरी लामो अन्तर हुनुमा तरकारीको गुणस्तर अनुसार हुने केहि व्यापारिहरु बताउछन् । यसरी तरकारीमा लामो मुल्यान्तर हुँदा समेत स्थानीय प्रशासनले अनुगमनका लागि कुनै पहल चालेको छैन ।
यस सम्बन्धमा त्रियुगा नगरपालिकाका उपमेयर देवी कुमारी चौधरीले बजार अनुगमनको अभावमा तरकारीको भाउ एक खाले नभएको स्वीकार गरे । बजार भाउमा एकरुपता ल्याउन नगरपालिकाको एक्लो प्रयासले सम्भव नहुने भएकाले सवै सरोकारवालाहरुले चासो देखाउनु पर्ने बताए ।
यस्तैगरी त्रियुगा उद्योग बाणिज्य संघ गाईघाटका प्रथम उपाध्यक्ष रमेश रसायलीले असन्तुलित बजार भाउलाई चाँडै सन्तुलनमा ल्याईने बताए । उनले हाल तरकारीको गुणस्तर र व्यापारीहरुले भिन्ना भिन्नै ठाँउबाट तरकारी आयात गर्ने हुनाले पनि तरकारीको भाउमा एकरुपता हुन नसकेको बताए ।
तरकारीको मूल्यमा खासै अन्तर नरहेपनि यस तरकारी मण्डी भन्दा बाहिर रहेर तरकारी विक्री गरिरहेका पसलले गर्दा तरकारी महंगो हुन गएको सगरमाथा कृषि उपज बजारका अध्यक्ष दुर्गानन्द चौधरीले स्वीकार गरेका छन् । “सब्जी मण्डीको तरकारीको मूल्य यस संस्थाले गर्छ तर सब्जी मण्डीमा भन्दा बाहिर पसल खोलेर राखेको तरकारीको मूल्यमा २० रुपैया सम्म महंगो छ । त्यसको नियन्त्रण कस्ले गर्ने ? अनुगमन गर्ने निकाय खोई ?” अध्यक्ष चौधरीका अनुसार यस सब्जी मण्डी र बाहिर पसल थापेर बसेको तरकारीको मूल्यमा एकरुपता नहुँदा हाम्रो संस्था पनि चुनसंग घुन झै मुछिएको बताए ।
अध्यक्ष चौधरीले तरकारीको भाउँ दिनमा किन फरक फरक प्रश्नको जवाफमा उनले फरक फरक दर रेट बारे स्वीकार गरेका छन् । सब्जी मण्डीमा तीन पटक नभएर दुई पटक सम्म भाउ थपघट भएको स्वीकार गरेका छन् । “साँझ पख विक्री गर्न बाँकी तरकारी विहान एउटा भाउ हुन्छ तर, फेरी दिउँसो बाहिरबाट तरकारी आउने हुँदा सोही अनुसार व्यपारीले ५ रुपैयासम्म तल माथि भएको छ । त्यसमा अनथा लिनु पर्ने कुनै कारण नै छैन्,” अध्यक्ष चौधरीले भने ।
व्यापारीहरुले सुनसरीको ईनरुवा, सिरहाको गोलबजार, चौहर्वा, लौकहि लगायतका स्थानहरुबाट तरकारी आयात गर्ने गरेका छन् भने जिल्लाका केहि क्षेत्रहरुबाट पनि तरकारी सदरमुकाममा आयात हुने गर्छ । यस्तै गरी व्यवसायीहरुले फरक फरक ठाँउबाट तरकारी आयात गर्ने गुणस्तरहित तरकारी ग्राहक आकर्षित गर्न सस्तो दरमा दिने गरेका कारण पनि तरकारीमा एकरुपता हुन नसकेको तरकारी व्यवसायी पानवत्ती चौधरीले बताईन् । उनका अनुसार स्थानीय तरकारीले भाउँ नपाउँदा कहिले काही घाटा खाएर भएपनि बेच्नु परेको बताए ।
यता अनुगमन कर्ताहरुले अनुगमनका क्रममा दोषी देखिएकाहरूमाथि कारबाही गर्न नसक्दा पनि तरकारीको मुल्यमा एक रुपता हुन नसकेको सर्वसाधारणहर बताउँछन् । प्रभावकारी कानुनी व्यवस्थाको अभावमा दोषीलाई दण्डित गर्न नसकिएको जस्ता अभिव्यक्ति दिँदै नियमनकारी निकायहरू आफ्नो जिम्मेवारीबाट उम्किरहेका कारण सब्जी मण्डिमा मनपरि हुदै आएको छ ।









