काठमाडौं। अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सँग भएको अनुदान सम्झौतामाथि पार्टी नेताहरुले चर्को संशय व्यक्त गरिरहेका बेला नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले केन्द्रीय कमिटी बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदनमा भने त्यसबारे मौनता साधिएको छ।
अध्यक्ष ओलीले उद्घाटन भाषणका क्रममा एमसीसीबारे बोले पनि प्रतिवेदनमा त्यसलाई प्रवेश गराइएको छैन। अमेरिकाले अघि सारेको इन्डो प्यासिफिक रणनीति (आइपीएस) माथि भने आक्रमक टिप्पणी गर्दै यसलाई चीन घेर्ने रणनीतिका रुपमा व्याख्या गरिएको छ।
एमसीसी अमेरिकाको सैन्य रणनीतिको अंग भएको र त्यो सहयोग स्वीकारे सैन्य गठबन्धनमा सामेत भएको अर्थ लाग्ने वा हुनुपर्ने भन्दै नेकपाभित्र सम्झौतालाई संसद्बाट अनुमोदान गर्ने किन नगर्ने भन्ने तीव्र विवाद छ। यसअघि स्थायी कमिटी बैठकमा यही विषयमा अध्यक्षद्वय ओली र दाहालले निकै प्रश्न सामना गरेका थिए। तर प्रतिवेदनमा एमसीसी उल्लेख नै नगरी अमेरिकासँग हुने विकास साझेदारीको मोडल प्रस्तुत गरिएको छ।
ुनेपालको राष्ट्रिय हितलाई सर्वोपरी राखी संयुक्त राज्य अमेरिकालगायत संसारका सबै देशसँग पारस्परिक हितका आधारमा आर्थिक सहयोग र विकास कार्यमा साझेदारी गर्न नेपाल तत्पर रहेको छ,ु प्रतिवेदनमा भनिएको छ। यो खबर कान्तिपुर दैनिकमा छापिएको छ।









