उदयपुर । उदयपुरको सदरमुकाम गाईघाटबाट संचालित बरुवा यातायात प्रा.लि.को छैठौं साधारण सभा सम्पन्न भएको छ । शनिबार सम्पन्न छैठौं साधारण सभाले प्रदेश नं. १ र २ को राजधानी तथा मुख्य शहरमा यातायातको शाखा विस्तार गर्ने भएको छ ।
साधारण सभाले यात्रुहरुको गुनासोहरुलाई मध्य नजर गर्दै प्रदेश नं. २ को राजधानी जनकपुरको साथै धरान, विर्तामोड, उदयपुरको कटारी, बेल्टार, रामपुर, शाखा विस्तार गर्नको साथै पहाडी क्षेत्र साउने, खाँबु, हलेसी हुँदै दिक्तेलसम्म विस्तार गर्ने भएको छ । २०७१ साल असार १५ गतेबाट यात्रा शुरु गरेको बरुवाले अहिले साना र मझौला गरी ५० भन्दा बढी सवारी साधनबाट सेवा प्रदान गरिरहेको छ ।
गाईघाट–कटारी हुँदै ओखलढुंगासम्म पनि यातायात संचालन गर्ने साधारण सभाले पास गरेको छ । यस अधि बरुवाको शाखाहरु विराटनगर, राजविराज, लहान, बर्दिबास, काठमाडौं, मुर्कुची, हडिया, फत्तेपुर, भागलपुर, लगायत १० स्थानमा रहेको थियो । सो शाखाहरुलाई मजवुत गर्दै अन्य शाखाहरु पनि विस्तार गर्ने बरुवा यातायात प्रा.लि.का अध्यक्ष दुर्गानन्द चौधरीले बताए ।
उनका अनुसार अहिलेसम्म ५० वटा विङ्गर मार्फत सेवा विस्तार गर्ने गरेकोले यसलाई थप गरी ७५ वटासम्म पुर्याउने बताए । आर्थिक वर्ष २०७५÷७६ मा बरुवा यातायात प्रा.लि.ले ६२ लाख ६६ हजार भन्दा बढीको आयव्याय प्रस्तुत गरेको थियो । साधारण सभामा मरनोपरान्त लाहान शाखाका इन्चार्ज असोक चौधरीलाई सम्मान गर्नुको साथै असल दुई चालक र दुई सहचालकलाई पनि सम्मान गरेको थियो ।
कार्यक्रमको अध्यक्षता बरुवा यातायात प्रालि.का अध्यक्ष दुर्गानन्द चौधरीले गरेको थियो । साधारण सभाको प्रमुख अतिथिमा यातायात कार्यालय गाईघाटका शाखा अधिकृत योगेश्वर खनालको रहेको थियो । यस्तै विशेष अतिथिमा जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरका हवल्दार रामकुमार साह रहेका रहेका थिए । साधारण सभामा शेयर सदस्यको साथै सवारी साधनका धनी, चालक, सहचालक लगायतको उपस्थिति रहेको थियो ।









