उदयपुर । जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरले गत आर्थिक वर्षमा ९४ लाख ३१ हजार पाँच सय राजस्व संकलन गरेको छ । आर्थिक वर्ष २०७४÷०७५ को भन्दा आव. ०७५÷७६ मा १२ लाख ४१ हजार पाँच सय बढी राजस्व संकलन गरेको हो ।
ट्राफिक नियम उल्लंघन गर्ने १४ हजार दुई सय ९५ सवारी चालक तथा चालकलाई कारबाही गरी उक्त राजस्व संकलन गरेको हो । कारबाहीमा पर्नेमा सबैभन्दा बढी टिफर÷ट्रक चालक र त्यसपछि मोटर साइकल चालक रहेको जिल्ला ट्राफीक प्रहरी कार्यालयका प्रमुख दिनेश कुमार चौधरीले बताए ।
ट्राफिक प्रहरी कार्यालयको तथ्याङक अनुसार सवैभन्दा बढी आर्थिक वर्षको मसान्त अर्थात असाढ महिनामा १ हजार ३ सय ९५ सवारी कारबाहीमा परेकाबाट ८ लाख ८९ हजार पाँच सय राजश्व उठेको छ । यसैगरी सवैभन्दा कम भदौमा ८ सय ५० सवारी कारबाहीमा परेकाबाट ५ लाख १७ हजार पाँच सय राजस्व संकलन भएको छ ।
३ हजार ९ सय ५६ मोटर साइकल कारबाहीमा परेको थियो भने २ हजार ६ सय २७ जिप, कार, भेन कारबाहीमा परेको थियो । यस्तै ७ सय ७५ वटा बस कारबाहीमा परेको थियो भने १ हजार ५ सय ६३ वटा ट्याक्टर पनि कारबाहीमा परेको थियो ।
गत वर्ष ११ हजार ५ सय १४ सवारी साधन कारबाहीबाट ८१ लाख ९१ हजार राजश्व संकलन भएको थियो भने चालु आर्थिक वर्षमा लक्ष्य भन्दा बढी राजश्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।









