उदयपुर । उदयपुरका आठ स्थानीय तहले आर्थिक वर्ष २०८२/८३ मा १४ प्रतिशत बढी बजेट फ्रिज भएको छ । पालिकाहरूले सार्वजनिक गरेको खर्च विवरण अनुसार अधिकांश स्थानीय तहले ८५ प्रतिशत भन्दा बढी बजेट खर्च गरेका छन् ।

यद्यपि रौतामाई गाउँपालिका र बेलका नगरपालिकाले भने अन्तिम खर्च विवरण सार्वजनिक गर्न सकेका छैनन् । आर्थिक प्रणाली (सूत्र) बन्द भएका कारण अन्तिम विवरण निकाल्न नसकिएको उनीहरूको भनाइ छ ।

उदयपुरका आठ स्थानीय तहले आर्थिक वर्ष २०८२/८३ मा उपलब्ध विवरण अनुसार चौदण्डीगढी नगरपालिकाले सबैभन्दा बढी ९१.११ प्रतिशत बजेट खर्च गरेको छ भने ताप्ली गाउँपालिकाले सबैभन्दा कम ८२.३२ प्रतिशत खर्च गरेको छ ।

सबैभन्दा बढी खर्च गर्ने पालिकाका रूपमा रहेको चौदण्डीगढी नगरपालिकाले कुल ८४ करोड २० लाख ५२ हजार ८६२ रुपैयाँ विनियोजित बजेट मध्ये ७६ करोड ७२ लाख ३४ हजार ७४५ रुपैयाँ ५४ पैसा खर्च गर्दै ९१.११ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ ।

दोस्रो स्थानमा रहेको कटारी नगरपालिकाले ९० करोड ४६ लाख ७२ हजार ६१९ रुपैयाँ बजेटमध्ये ८१ करोड ४३ लाख २५ हजार ६०२ रुपैयाँ खर्च गरेको छ । प्रमुख प्रशासकीय अधिकृत राजन थापाका अनुसार नगरपालिकाको वित्तीय प्रगति ९०.०१ प्रतिशत पुगेको छ ।

लिम्चुङबुङ गाउँपालिकाले कुल ४१ करोड ५५ लाख १८ हजार २२६ रुपैयाँ बजेटमध्ये ३६ करोड ६३ लाख १७ हजार ४१२ रुपैयाँ खर्च गरेको जनाएको छ । गाउँपालिकाले उपलब्ध गराएको आधिकारिक विवरणअनुसार यसको वित्तीय प्रगति ८६.१७ प्रतिशत रहेको छ ।

उदयपुरगढी गाउँपालिकाले ७२ करोड ९१ लाख ५२ हजार ३६४ रुपैयाँ बजेटमध्ये ६२ करोड ३३ लाख ९३ हजार ६९ रुपैयाँ खर्च गर्दै ८५.५० प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ।प्रमुख प्रशासकीय अधिकृत भक्त राईका अनुसार स्थानीय पत्रपत्रिकाको केही भुक्तानी ढिलो भएका कारण केही रकम खर्च हुन बाँकी रहेको हो।ती भुक्तानी पछि गरिने उनले बताए ।

त्रियुगा नगरपालिकाले कुल १ अर्ब ५८ करोड ४ लाख ६५ हजार ७७३ रुपैयाँ बजेटमध्ये १ अर्ब ३३ करोड ९५ लाख ८२ हजार १९१ रुपैयाँ खर्च गरेको छ । प्रमुख प्रशासकीय अधिकृत कुमारप्रसाद कोइरालाका अनुसार नगरपालिकाको वित्तीय प्रगति ८४.७६ प्रतिशत रहेको छ । यो प्रतिशतमा चालु ८९.२६ र पुँजीगत तर्फ ७६.८६ प्रतिशत खर्च गरेको उनले जानकारी दिए ।

सबैभन्दा कम खर्च गर्ने पालिकाका रूपमा रहेको ताप्ली गाउँपालिकाले ४२ करोड ४ लाख ४० हजार १३३ रुपैयाँ बजेटमध्ये ३४ करोड ६१ लाख ४१ हजार ७६० रुपैयाँ खर्च गर्दै ८२.३२ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ । प्रमुख प्रशासकीय अधिकृत सन्तोष भट्टराईका अनुसार संघीय सरकारको निर्णयका कारण स्थानीय पत्रपत्रिकाको भुक्तानी रोकिएकाले खर्च प्रतिशत केही घटेको हो । आवश्यक केही पत्रपत्रिका र रेडियोमा मात्रै भुक्तानी गरिएको उनले बताए ।

यता रौतामाई गाउँपालिकाले अन्तिम खर्च विवरण सार्वजनिक गर्न सकेको छैन । लेखा शाखा प्रमुख भूपध्वज रायमाझीका अनुसार असार मसान्तसम्म भुक्तानी प्रक्रिया जारी रहे पनि त्यसपछि सूत्र प्रणाली बन्द भएकाले अन्तिम खर्च विवरण निकाल्न समस्या भएको हो ।

बेलका नगरपालिकाले पनि हालसम्म अन्तिम खर्च विवरण सार्वजनिक गर्न सकेको छैन । आर्थिक प्रशासन प्रमुख अजित भट्टराईका अनुसार सूत्र प्रणाली बन्द भएका कारण कुल बजेट र वास्तविक खर्चको अन्तिम विवरण उपलब्ध गराउन नसकिएको हो ।

उपलब्ध तथ्यांक अनुसार उदयपुरका अधिकांश स्थानीय तहले आर्थिक वर्षको अन्त्यसम्म चालु र पुँजीगत दुवै तर्फको ८५ प्रतिशतभन्दा बढी बजेट खर्च गर्न सफल भएका छन् । त्यसमा उपलब्ध विवरणका आधारमा वित्तीय प्रगतिमा चौदण्डीगढी नगरपालिका अग्रस्थानमा रहेको छ भने ताप्ली गाउँपालिका सबैभन्दा कम खर्च गर्ने स्थानीय तह बनेको छ । रौतामाई गाउँपालिका र बेलका नगरपालिकाको अन्तिम खर्च विवरण भने प्रणालीगत समस्याका कारण सार्वजनिक हुन बाँकी छ ।

तपाईको प्रतिक्रिया