गाईघाट । भर्खरै निस्कासित करारका कर्मचारीहरुले त्रियुगा नगरपालिकाको मुल गेटमा ताला लगाएर कामकाज ठप्प पारेको छ । आन्तरिक, संघ, प्रदेश तथा परियोजनाको केही कर्मचारीहरुको साउन १ गतेदेखि म्याद नथप्ने निर्णयपछि स्वतः निस्कासनमा परेका ५९ कर्मचारीले विहिबार मुल गेटमा ताला लगाएर नगरपालिकाको कामकाज ठप्प पारेका छन् ।
नगर प्रमुख स्तरीय निर्णयको हवाला दिदै प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम ढकालले असार ३१ गते एक सूचना प्रकाशित गरी ५९ करार कर्मचारीको म्याद नथपिएको जानकारी गराएका थिए । त्यस लगत्तै आन्दोलनको चेतावनी दिएका कर्मचारीहरुले अघिल्लो दिन ज्ञापनपत्र दिएर निर्णय पुनराबलोकन गर्न मेयर बस्नेतलाई आग्रह गरेका थिए ।
तर, माग सम्बोधन नभएको भन्दै निस्कासित कर्मचारीहरुले धर्ना सुरु गरेपछि कर्मचारी र जनप्रतिनिधि कार्यालय पस्न नपाएपछि कामकाज ठप्प भएको हो । विहिबार कार्यालय समय सुरु हुनुअघि नै मुलगेटमा ताला लगाएर धर्ना बसेपछि कार्यालय प्रमुखदेखि सहयोगीसम्म, मेयरदेखि सदस्यसम्म कार्यालय छिर्न नपाएका हुन् ।
असन्तुष्ट कर्मचारीहरुले आस्थाको आधारमा आग्रहपूर्वाग्रह राखेर आफुहरुलाई निस्कासन गरेको गुनासो गर्दै अघिल्लो दिन नै मेयर बस्नेतलाई निर्णय पुनराबलोकन गर्न माग गरेका थिए । करार भए पनि लोकसेवा आयोगको प्रक्रिया पुरा गरेर सेवा प्रवेश गरेकाले निस्कासन गर्न पनि पूर्व जानकारी र स्पष्ट कारण हुनुपर्ने उनीहरुको गुनासो छ । मेयर बस्नेतलाई पूर्वाग्रही भएर गरेको निर्णय फिर्ता नलिएमा अनिश्चितकालीन आन्दोलन गर्ने चेतावनीसहित उनीहरु धर्ना बसेको बताएका छन् ।
कर्मचारीको म्याद नथप्ने विषयमा मेयरले गम्भीर त्रुटी गरेको भन्दै कर्मचारी संघसंगठनले पनि आन्दोलनकारीप्रति ऐक्यबद्धता जनाएका छन् । उनीहरुले छुट्टाछटुटै र संयुक्त विज्ञप्ती प्रकाशित गरेर मेयर बस्नेतको उक्त कदमप्रति असहमति जनाएका छन् । बिभिन्न राजनीतिक दलनिकट कर्मचारी संघसंगठनहरु, निजामति कर्मचारीहरुको साझा छाता संस्था आधिकारीक ट्रेड युनियनले समेत कर्मचारी निस्कासनको शैलीप्रति असहमति जनाएका हुन् ।
कार्यालय समय लगत्तै सुरु आन्दोलन मत्थर पार्न म्याद थप नगरिएका मध्ये केहीलाई म्याद थप गरिदिने आश्वासन दिइएको भन्ने समेत बुझिन आएको छ । उक्त कुरा स्वयं आन्दोलनमै रहेका सहभागीबाटै खुल्न आएको छ । पहँचवाला नेता तथा कार्यकर्ता, कर्मचारीका आफन्त लगायतको करार अवधि भने थप गरिएको आन्दोलनरत कर्मचारीहरुको भनाई छ । नगरपालिकाले बिना आधार र मापदण्ड पूर्वाग्राही ढङ्गले कर्मचारी निष्काशन गरेको आन्दोलनरत कर्मचारीहरुले बताएका छन ।

मुल गेटमा ताला लागेपछि कर्मचारीहरु यत्रतत्र छरिएर बसेका छन भने कोहि आउने क्रम जारी रहेको छ ।

कार्यपालिका बैठकको अहिलेसम्म टुङ्गो छैन्

यता नगर कार्यपालिकाको बैठक विहिबार बस्ने भनि सहमति भएपनि अहिलेसम्म बैठक बस्ने कुनै परिपत्र नभएको एक कार्यापालिका सदस्यले जानकारी दिएका छन् । उपमेयर महेश्वरी राई सहित बहुमत कार्यपालिका सदस्यले मंगलबार बैठकको माग सहित ध्यानाकर्षण पत्र बुझाएको थियो । ध्यानाकर्षण पत्रमा बुधबार १ बजे कार्यपालिकाको बैठक राख्न माग गरिएको थियो । बैठक राख्न माग गरिएपनि मेयर बसन्त कुमार बस्नेतले विहिबार बस्ने भनेर सहमति जनाएपनि बैठकको बारेमा कुनै जानकारी नभएको त्रियुगा नगरपालिका १६ का वडाध्यक्ष तथा कार्यपालिका सदस्य मान बहादुर राईले जनाएको छ ।

यस विषयमा त्रियुगा नगरपालिका वडा नं. ३ का वडाध्यक्ष तथा नगर प्रवक्ता तिलक कटुवालसँग सम्पर्क गर्न खोज्दा दुई पटक मोबाइलमा घण्टी गएपनि तेस्रो पटक देखि व्यस्त व्यस्त भनिरह्यो ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया