उदयपुर । जलवायु परिवर्तनको प्रत्यक्ष असर महिला तथा बालबालिकामा देखापरेको एक तथ्यांकले देखाएको छ ।
जलवायु, न्याय–महिला सहभागितात्मक कार्यगत अनुसन्धान, कार्यक्रमअन्र्तगत ल एण्ड डेभलपमेन्ट एसिया प्यासिफीक फोरम अन ओमनको सहयोगमा चेतना महिला समुह उदयपुरले त्रियुगा नगरपालिका १ र २ को जोगिदहमा गरेको अनुसन्धानले यस्तो देखाएको हो ।
तथ्यांकले चुरे क्षेत्रको वढ्दो दोहन नै उदयपुरको लागि जलवायु परिवर्तनको मुख्य आधार भएको औल्याइएको छ । सामुदायिक वन क्षेत्रको अवधारण विकास भएपनि त्यसको संरक्षण नहुनु, चुरे क्षेत्र दिन दिनै मासिँदै जानुले विनास निम्त्याइएको तथ्यांकले देखाएकोछ ।
बढ्दो विनास नरोक्ने र सरोकारवालाहरुले विपद् पुर्वका योजना तर्जुमा नगर्ने हो भने अबश्य अझ भयाभय बन्दै जाने निष्कर्ष निकालेको छ । सँगै तथ्यांकले यसबाट सृजित समस्याको प्रत्यक्ष मर्कामा महिला तथा बालबालिका रहेको देखाएको छ ।
तथ्यांकले जलवायु परिवर्तनकैकारण मौसममा परिवर्तन आउने गरेको, समय सिमा अघि नै यसका लक्षणहरु देखा पर्ने गरेको, उत्पादित कृषि बस्तुहरुमा रोग लाग्ने, समयमा नफल्ने, किरा लाग्ने, बोटविरुवाहरु मर्ने जस्ता समस्या देखा परेको मुख्य अनुसन्धानकर्ता तारा खनालले बताईन् ।
उनले सिजनभन्दा अघि पछाडी सम्म बाढि आउनु, हावाहुरी चल्नु, खण्ड–खण्ड भएर पानी आउनु, केहि समयका लागि मात्र पानी पर्नु जस्ता समस्या देखा पर्ने गरेको उनको भनाई छ । जलवायु परिवर्तनकैकारण विपत्तिहरु देखा पर्ने गरेको र त्यसको असर महिला तथा बालबालिकामा पर्ने गरेको बताईन् ।
विपत्तिले गर्दा खेतीयोग्य जमिन वगरमा परिणत हुने र उब्जानी नहुने, उब्जानीमा हस आउने, गर्ववति, सुत्केरी भएको बेला रसायनिक तथा बिषादी मिसिएको खानेकुरा खान बाध्य हुने गरेको र आकस्मिक उपचार गर्न नपाई अकालमै महिलाको ज्यान जाने गरेको तथ्यांकले देखाएको छ ।
झाडापखाला, हैजा, महामारी जस्ता समस्या प्राकृतिक विपत्तिबाट नै समस्या उब्जिएका उनको तर्क छ । अधिकांस पुरुषहरु कमाउनका लागि देश तथा विदेशमा जानु पर्ने र महिलाले घर सम्हालेर बस्नु पर्ने अबश्थामा खेतीयोग्य जमिन वगर हुनु, कृषि सामग्री उत्पादन गर्न लाग्दा किरा लाग्ने, डढ्ने, रोग तथा महामारी लाग्ने जस्ता समस्याहरु रहेको चेतना महिला समुहकाका अध्यक्ष अरुणा चौधरीलेको भनाई छ ।
अझ महिला तथा बालबालिकाको शिक्षा र स्वास्थ्यमा यसले प्रत्यक्ष असर पुर्याएको उनले बताईन् । दुई बर्ष लगाएर गरिएको अध्ययनमा संस्थाले २१ वटा महिला समुह गठन गरी पुर्वअनुसन्धान र छलफल, सरोकारवालासँग समन्वय र बैठक, जलवायु परिवर्तन प्रतिको स्थानीयसँगको बुझाई, सोधपुछ, सचेतनामुलक कार्यक्रम सञ्चालन गरी तयार पारिएको अनुसन्धानकर्ता खनालले जानकारी दिईन् ।
त्यसक्रममा जलवायु परिवर्तनका बारेमा थाहै छैन् भन्नेको संख्या ५ प्रतिशत, भगवानकोकारण विपत्ति आईलागेको भन्ने २६ र मानविय गतिबिधि मुख्य कारकको संख्या ६९ प्रतिशत रहेको जनाइएको छ । भौगोलिक अबश्था, समुचित बाँधको अभाव, खोलाकिनारा चरिचरण बन्द नहुनु, लामो समय खडेरी पर्नु बाढिको जोखिम बढ्नु भएको खनालले बताईन् ।