उदयपुर / दाजुबहिनीको प्रेमको प्रतीकको रूपमा रहेको तराईको मौलिक पर्व समा चकेवा शनिबार हर्षोल्लासका साथ मनाईएको छ । गोबर्धन पूजादेखि कात्तिक पूर्णिमासम्मको अवधिमा मनाइने यो पर्व विशेषगरी तराईका जिल्ला र भारत बिहारका विभिन्न गाउँ तथा सहरी क्षेत्रमा बसोबास गर्ने मधेसी तथा थारू मूलकी अविवाहित किशोरीले मनाउने गर्दछन् ।
सामा चकेवा पर्वको अन्तिम दिन परम्पराअनुसार दिदी बहिनीहरुले गीत गाईसकेपछि सामा चकेवा र सात भाईलाई भूईमै सेलाएर चुगला र वृदावनलाई पूर्णरुपमा जलाई खेतमा गाडि दाजु–भाईलाई मिठो परिकार खुवाई सम्पन्न भएको हो । खासगरी तराई क्षेत्रका सम्पूर्ण भु–भागमा हर्षोउल्लासका साथ मनाईने पौराणिक लोकपर्व ‘सामा–चकेवा’लाई मिथिलाञ्चलका चेलिबेटीले महापर्वको रुपमा लिन्छन् । ‘सामा–चकेवा’ बहिनी र भाईको आपसी प्रेम, स्नेह र सदभावमा आधारित पर्व हो ।


हरेक वर्ष छठ पर्वको खरना पूर्णिमासम्म नियमित दाजुभाई हुने र नहुने दिदी बहिनीहरुले आफ्ना दाजुभाइको लामो आयू, सुस्वास्थ्य र प्रगतिको कामना गर्दै यो पर्व मनाउने चलन छ । यो पर्वको मर्म भनेकै दाजुभाइसँग दिदी बहिनीले प्रेम, स्नेह र सद्भाव साटासाट गर्नु हो ।
राति खाना खाइसकेर एउटा बाँसको चोयाबाट निर्मीत डालोमा सामा (बहिनी), चकेवा (भाई), चुगला (कुरौटे), वृदावन (झगडिया) र सात भाईको माटाको मुर्ति बनाएर त्यसमा दियो बालि समुहमा घरको आँगनमा वा बाटोमा गई ध्यानमग्न भई दिदीबहिनीहरुले सुरिलो स्वरमा गीत गाउँने गर्छिन ।


गीत गाएर चेलीबेटीले दुवो र चामल लिएर डालोमा भएको सबै मुर्तिहरु माथि छर्कन्छन । यसरी हाँसो ठट्टा, मनोरञ्जन र गीत गाउँदै मनाउने यो चाडमा सामा र चकेवाबीचको प्रेम र स्नेहलाई भताभुङ पार्न खोज्ने आरोप लगाउँदै चुगला र वृदावनलाई खरना देखि पूर्णिमासम्म गीत गाउँदै जलाईन्छ ।
परम्पराअनुसार अन्तिम गीत गाईसकेपछि सामा चकेवा र सात भाईलाई भसाईन्छ भने चुगला र वृदावनलाई पूर्णरुपमा जलाएर खेतमा गाडिन्छ ।


पर्वको अन्तिम दिन पूर्णिमाको रातमा उक्त मूर्तिहरूलाई परम्परागत गीत गाउँदै फुटाउँछन् । अनि गाउँ घर नजिकको नदी, जलाशय, पोखरी, सरोवर आदिमा लगी सेलाएर आफ्ना दाजुभाइहरूलाई मिठाई पकवान्न आदि खुवाएर यो पर्व विधिवत रूपमा सम्पन्न गरेका छन् । समा चकेवाको थारु भाषामा डगहर अर्थात गाउँ डुल्ने दिन घरघरै अन्न, नगद उपहार लिने र पर्वको अन्तिम दिन उक्त जम्मा भएको अन्नपात र रकमको गाउँभरिका मान्यजन र इष्टमित्रलाई एकत्रित गरेर भोजभतेर खाने खुवाउने चलन रहिआएको छ ।


‘मूर्ति सेलाउने दिन किशोरीहरूले आ–आफ्नो अभिभावकबाट संकलन गरेको भेटीलाई एकत्रित गरी त्यसबाट दूध, चिनी, तरकारीको परिकार खरिद गरेर भोज भतेर खाने चलन छ,’ समाजसेवी रामवती चौधरीले बताईन् ।
उक्त अवसरमा नाचगान गरेर मनोरञ्जन गर्ने चलनसमेत रहेको छ । यस पर्वको अवसरमा उदयपुरका थारु समुदायका अधिकांश गाउँमा आर्केस्ट, लवण्डा नाच, बेहुलाको नाच, ड्रामाको आयोजना गरिएको हुन्छ ।


यस्तै उदयपुरको उत्तरवारी टोलमा समा चकेवा महोत्सव २०७५ सम्पन्न भएको छ । उदयपुरको त्रियुगा नगरपालिका ८ स्थित फुलवारी टोल विकास संस्था र सरस्वती युवा क्लव उत्तरवारिटोल देउरीको संयुक्त आयोजनामा समा चकेवा महोत्सव भएको हो । यस्तै समन्वन्वय थारु पत्रकार संघ, नेपाल जिल्ला शाखा उदयपुरले गरेको थियो ।
महोत्सवमा थारु जातिहरुको मौलिक, संस्कृतिक समा चकेवाको प्रर्दशनी तथा आधुनिक तथा पौरानिक थारु नृत्य प्रतियोगिताको प्रस्तुत गरिएको फुलवारी टोल विकास संस्थाका अध्यक्ष श्रवण चौधरीले वाताए ।
थारु जातीको कला सस्कृती वास्तवमै एक उत्कृष्ठ हो, थारु जातिको कला सास्कृतीकलाई स्थानीय स्तरमा मात्र नभई राष्ट्रिय स्तरसम्म पुयउन आवश्यक रहेको समा चकेवा महोत्सवका प्रमुख अतिथी तथा प्रदेश सांसद हिमाल कार्कीले वताए । उनले भने–‘थारु संस्कृती जोगेर्णा गर्नको लागि प्रदेश स्तरमा आफुले पहल गर्ने प्रतिवद्धता जनाउँदछु ।’


महोत्सवमा जिल्ला स्तरिय खुल्ला नृत्य प्रतियोगिता प्रथम नमुना युवा क्लव, कुमारी चोक, दोश्रो चन्द्रमा युवा क्लव खैजनपुर र तेस्रो स्थान सिर्जनसिल युवा क्लव देउरी भएको थियो भने सान्त्वना मखमली युवा क्लव जोगिदह र गुराँस वाल युवा क्लव भएको थियो । नृत्य प्रतियोगिताका प्रथम विजेतालाई सात हजार, दोश्रो विजेतालाई पाँच हजार, तेश्रो हुनेलाई दुई हजार पाँच सय र सान्त्वना हुनेहरुलाई एक–एक हजार सहित प्रमाण पत्र समेत प्रदान गरिएको थियो ।

तपाईको प्रतिक्रिया