सुखिलाल चौधरी, उदयपुर / मुलुकको सबैभन्दा ठूलो औद्योगिक प्रतिष्ठान उदयपुर सिमेन्ट उद्योगले आफ्नो उत्पादन परिमाणमा नयाँ किर्तिमान कायम गरेको छ । सोमबार उदयपुर सिमेन्ट उद्योगले सात सय ७० मेट्रिक टन उत्पादन गरेर नयाँ इतिहास रचेको छ ।
सिमेन्ट उद्योग मर्मतपछिको यो सवै भन्दा बढी हो । दैनिक आठ सय मेट्रिक टन उत्पादन गर्नसक्ने क्षमता रहेको सो उद्योगले सोमबार २३ भण्टामा ९६ दशमलव २६ प्रतिशत अर्थात सात सय ७० मेट्रिक टन सिमेन्ट उत्पादन गरी आफ्नो अढाई दशक लामो यात्रामा नयाँ किर्तिमानी कायम गरेको हो । सोमबार दुई पटक गरी एक घण्टाभन्दा बढी विद्युत आपूर्ति नहुँदा पनि यो नयाँ इतिहास कायम गर्न सकेको विक्री विभागले जनाएको छ ।
वि.सं २०४९ साल मङ्सिर महिनाबाट उत्पादन सुरु गरेको उदयपुर सिमेन्ट उद्योगले यस अघि यति ठूलो परिमाणमा उत्पादन गर्न सकेको थिएन । उद्योगले अहिलेसम्मकै आफ्नो क्षमताको अधिकतम उपयोग गरेको हो । जापान सरकारले नेपाल सरकारलाई उद्योग हस्तान्तरण गरेपछि हालसम्म सबैभन्दा ठूलो परिमाणमा गैँडाछाप सिमेन्ट उत्पादन गर्न सफल भएको उद्योगका विक्रि विभागका कर्मचारी प्रकाश पोखरेलले बताए । विद्युत २४ औं घण्टा आपूर्ति भएमा यो क्षमता आठ सय मेट्रिक टन भन्दा बढी हुन सक्ने उनले बताए ।
उत्पानमा आएको वृद्धिसँगै बजारमा गैँडाछाप सिमेन्टको माग पनि अत्यधिक बढेर गएको पोखरेलले बताए ।


असोज महिनाको पहिलो सातादेखि सुरु भएको मर्मत कार्य कात्र्तिकको पहिलो सातासम्म लागेको थियो । उद्योगको मुख्य भाग मानिने किल्लर (कच्चा पदार्थ पकाएर सिमेन्ट बनाउने अग्नि यन्त्र) लगायत २२ वटा ठूला यन्त्रको पूर्ण मर्मत र पुनः जडान गरिएको उद्योगका मेकानिकल विभागका प्रमुख टीका कुँवरले बताए । उनका अनुसार धेरै सामानहरु खिएर कामै नलाग्ने र केही टुटेर उद्योग बन्द हुने अवस्था आएपछि एक महिना लगाएर मर्मत गरिएको हो । ‘पाँच दशमलब एक मिटर भट्टी (किल्लर) नै चेन्ज गरिएको छ । धेरै पुरानो भएका पार्टपूर्जा मर्मत र चेन्ज गर्नु पर्यो’ उनले भने, ‘उद्योगमा पहिलो पटक ग्राफाइड सिल जडान गरी उत्पादन समेत सुरु गरिएको छ ।’ मेकानिकल विभागाका अनुसार २४ मिटर लम्बाई र चार मिटर चौडाई भएको कुलर, ग्राफभेड वेल्ड फिल्टर, एकपेन्सन जोइन्डको १४ ठाउँमा मर्मत गरी नयाँ बनाइएको छ ।
यसैगरी रमिल फ्यान, जिबिएस फ्यान, एफसिएफ फ्यान, १५ टनको ६ ठाउँमा डक चेन्ज, टोटल लुब्रिकेट स्टिम, लाइन्भर, बकट एलिवेल्ट, ४० वटा प्रेसर टान्मिटर चेन्ज, भेरी लेबल फ्रिकुइन्सी ड्राई पाँचवटा चेन्ज, इलेक्स मर्मत गरिएको टीका कुँवरले जनाकारी दिए । ‘मर्मतपछि उद्योगमा नयाँपन आएको छ,’ उनले भने, ‘उत्पादन समेत बढ्ने छ ।’
उद्योगको मुख्य भाग मानिने किलिङकर भट्टी (कच्चा पदार्थ पकाएर सिमेन्ट बनाउने अग्नि यन्त्र ) पहिलो मर्मत भएको हो । ६० मिटरको किलिङकर भट्टी २४ मिटर र कोइला आउने भागको ५ मिटरमा क्रयाक थियो । १८० डिग्रीमा घुम्नु पर्ने क्लिङ्कर मेसिन ७० डिग्रीको फरकमा घुमिरहेको थियो । यो कुनै समय पनि ब्रस्ट हुन सक्ने भएकोले मर्मत गरिएको थियो ।
कुँबरका अनुसार अहिले सिमेन्ट उत्पादनमा वृद्धिमात्र भएको छैन, उद्योगबाट निस्कने धूलो र धुवाँसमेत नियन्त्रण भएको छ । दैनिक प्रतिघण्टा दुई टनभन्दा बढी उढ्ने धूलो तथा धुवाँ नियन्त्रण गर्ने इलेक्ट्रोस्टारिक पावर (ईएसपी तथा पोलुसन कन्ट्रोल) मेसिन जडान गरिएपछि उद्योगबाट निस्कने धूलो र धुवाँ नियन्त्रणमा आएको हो ।

तपाईको प्रतिक्रिया