सुखिलाल चौधरी, उदयपुर /उदयपुरको आकाशमा प्याराग्लायडिङ खेलको प्रशिक्षण शुरु भएको छ । बेलका नगरपालिका–८ बोपताङ्ग डाँडाबाट प्रिवेसिक र बेसिक तालिम शुरु भएको हो । बुधबार बेलका नगरपालिका मेयर दुर्गा थापाले पाराग्लाइडिङमा उडेर तालिमको शुरुवात गरेको हो । पोखराबाट सुरु भएको पाराग्लाइडिङ खेल अब पूर्वको आकाश उदयपुरमा पनि खेल्न पाइने भएको छ ।


नेपाल पाराग्लाइडिङ एण्ड ह्याङ ग्लाइडिङ संघले राष्ट्रिय खेलकुद विकास समितिको सहयोगमा गत फागुनमा ८ वटा पाराग्लाइडिङ सफल परिक्षण उडान पछि संघको सहयोग र बुढासुब्बा पाराग्लाइडिङ धरानको समन्वयमा प्रशिक्षण शुरु भएको हो । बेलका नगरपालिकाले बेलकाको रामपुर ठोक्सिलामा पाराग्लाइडिङ तालिम प्रशिक्षण केन्द्र सञ्चालनका लागि स्कुल स्थापना गरेको छ ।


सो प्रशिक्षण केन्द्रले बोपताङ्ग डाँडाबाट व्रिटिस प्रशिक्षक पेट ग्यलेगरले उदयपुरका एक, पोखराका तीन, पाल्पाका एक र धरानका एक जना गरी ६ जनालाई बेसिक तालिम दिईरहेको बुढासुब्बा पाराग्लाइडिङ्ग धरानका अध्यक्ष लेखमणि जिमीले बताए । उनका अनुसार १५ दिने बेसिक तालिम अन्तर्गत पहिलो चरणमा ६ जनालाई प्रशिक्षण दिईरहेको बताए । उनीहरुबाट होस्टेल बसे १ लाख ५० हजार र होस्टेल नबसे १ लाख ३० हजार लिईने गरेको अध्यक्ष जिमीले बताए । उनका अनुसार दोस्रो चरणमा बेलका नगरपालिकाकै ६ जनालाई प्रशिक्षण दिईने छ । उनका अनुसार असोजको अन्तिम देखि पुस मसान्तसम्मको लागि मौसम अनुकुल हुने भएकोले यस समयमा मात्रै उडाउन प्रशिक्षण दिईने छ ।


उदयपुरको आकाशमा बोपताङ्ग र चम्पाकोट डाँडाबाट यस खेल खेल्न सकिन्छ । बोपताङ्ग डाँडा समुन्द्र सतहदेखि ५१० मिटर र चम्पाकोट डाँडा समुन्द्र सतहदेखि ७०० मिटरको उचाईमा रहेको नेपाल पाराग्लाइडिङ एण्ड ह्याङ ग्लाइडिङ संघ सुनसरीका सचिव विकास आचार्यले बताए । उनका अनुसार उडान गर्दाको एलिभेयसन बोपताङ्ग डाँडाबाट ४५० मिटर र चम्पाकोट डाँडाबाट ५५० मिटर भन्दा बढी रहेको बताए ।


प्यारा गल्याडिङ परीक्षणका लागि बोपताङ्ग डाँडासम्म कच्ची बाटो पुर्याएको र कोशीटप्पुको नदी किनार कुमुगिवा सामुदायिक वनको क्षेत्रको सिसौली चौरमा अवतरण गराउने गरेको बेलका नगरपालिकाका मेयर तथा पर्यटन विकास समितिका संयोजक दुर्गा थापा (स्वतिक)ले बताए । सहासिक खेलको परिचय बनेको पाराग्लाइडिङले बेलका नगरपालिकाको आकाशले आन्तरिक तथा बाह्य प्रर्यटक प्रबद्र्धनको लक्ष्य लिइएको मेयर थापाले बताए । उनका अनुसार यस नगरपालिका भित्रका जोसुकैले पाराग्लाइडिङ प्रशिक्षण लिन चाहनेले ५० हजार रकम सहयोग हुने बताए ।


पाराग्लाइडिङ पाइलटको कोर्स पूरा गर्न करिब तीन वर्ष लाग्छ । १५ दिने आधारभूत तालिमपछि दुई वर्षसम्म एक्लै उडाउनु पर्छ । जसमा एड्भान्स र सुरक्षा तालिम समेत दिइन्छ । पाइलट बन्न तीन लाख रुपैयाँ खर्च लाग्छ । व्यावसायिक उडानका लागि लाइसेन्स लिनुपर्ने हुन्छ । क्यान पोखरा, नेपाल हवाई खेलकुद संस्था (ना) र नेपाल पाराग्लाइडिङ पाइलट्स क्लबले लाइसेन्स वितरण गर्छन् ।

तपाईको प्रतिक्रिया