उदयपुर / उदयपुरको रौतामाई गाउँपालिकामा यसै बर्ष साँढे तीन करोड बढिको लागतमा दुई वटा सुबिधा सम्पन्न स्वास्थ्य चौकी भवन निर्माण भएकाछन् ।जिल्लाको दुर्गम क्षेत्रका सर्वसाधरणलाई सेवा दिने उद्देश्यले निर्माण सम्पन्न दुबै स्वास्थ्य चौकी भवनको उद्घाटन प्रदेशनं १ का सामाजिक विकास मन्त्री जिवन घिमिरेले कात्तिक ९ गते गरेका हुन् ।
भवन उद्घाटन गर्दै मन्त्री घिमिरेले आवश्यक जनशक्ति र सेवाविस्तारका लागि सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले प्रदेश सरकारले चिकित्सक उत्पादनका लागि विशेष योजना बनाई यसै बर्ष देखि प्रदेश भित्रका बिद्यार्थीलाई पढ्ने सेवा बिस्तार गरिएको बताए ।
उनले भने, ‘चिकित्सक अभाव समस्या समाधानका लागि, बिद्यार्थीलाई सहुलियतमा पढाउने र तोकिएको ठाउँमा सेवा दिने गरी नीतिहरु बनाएका छौ, जुन यसै बर्षदेखि कार्यान्वयन हुनेछ ।’
घिमिरेले सरकारले दिने सेवा सुबिधा र निशुल्क औषधि उपचारको बारेमा बेलामौकामा निरीक्षण गरी प्रदेश सरकारको ध्यानाकर्षण गराउन समेत सबै पंक्षलाई आग्रह गरे ।
सहरी विकास मन्त्रालयको सहयोगमा रौतामाई गाउँपालिका वडानं १ डहरमा १ करोड ८२ लाख रुपैँयाको लागतमा भर्खरै भवन निर्माण सम्पन्न भएको हो । ३ करोड रुपैँया स्वीकृत भएकोमा रौता कस्ट्रक्सन प्रा.ली. गाईघाटले १ करोड ८२ लाखमा ठेक्का लिई निर्माण कार्य सुरु गरेका स्वास्थ्य चौकीका अनमी दुर्गादेवी दाहालले जानकारी दिईन ।
भवन निर्माणसँगै सेवा उपलब्ध गराउन सके रौतामाईको वडानं १,२,३ र ताप्लि र लिम्चुङबुङका सर्वसाधरणलाई समेत सेवा दिन सकिने स्वास्थ्य चौकी प्रमुख हेल्थ असिस्टेन्ट शंकरनाथ यादवले जानकारी दिए । गाउँपालिका भित्रको सबैभन्दा दुर्गम र पहाडी भेगको वडा भएकाले स्वास्थ्य सेवाका लागि स्थानीयबासी १० घण्टा लगायर यातायातका साधनबाट सदरमुकाम र कटारी झर्न बाध्य रहेको वडाध्यक्ष रुद्रबहादुर कार्कीले बताए ।
२०७२ सालबाट सुरु भएको भवनमा कर्मचारी आवाससहित २२ वटा कोठा रहेकाछन् । भवन उद्घाटनको अवसरमा जग्गादाता र चन्दा सहयोग गर्नु हुने सबैलाई दोसल्ला ओढाई सम्मान गरिएको थियो ।
त्यसैगरी रौतामाई गाउँपालिकाको वडानं ४ माल्बासेमा १ करोड २४ लाख २९ हजार ७६ रुपिँयाको लागतमा १८ कोठे भवन निर्माण भएको छ । सहरी विकास मन्त्रालयको सहयोगमा निर्माण भएको भवन २०७४ भदौ महिनामा भानुभक्त निर्माण सेवा प्रा.ली. गाईघाटले सम्झौता गरी काम सुरु गरेको अनमी रिता बरालले जानकारी दिईन् ।
३ रोपनी क्षेत्रफलमा निर्माण भएको भवनमा बिद्युत सेवाको अभावमा सोलार बत्तिहरु जडान गरिएकाछन् । प्रभावकारी सेवा दिन सके रौतामाई गाउँपालिकाको वडानं ४,२,३,५,६,८ का जनता लाभान्वित हुने वडाध्यक्ष चन्द्रबहादुर मगरले बताए ।
दुबै स्वास्थ्य चौकीमा ल्याव, एक्सरे, वर्थिङसेन्टर, ओपिडी, परिवार नियोजन लगायतका सेवा दिने गरी भवन तयार गरिएको गाउँपालिकाका अध्यक्ष गजेन्द्रबहादुर खड्काले बताए । स्वास्थ्यचौकी स्त्तोरोन्नती हुँदा १५ सैयाँसम्मको सेवा उपलब्ध गराउन सक्ने गरी भवनको तयारी गरीएको उनको भनाई छ ।
खड्काले भनव निर्माणसँग जनशक्ति र सेवालाई प्रभावकारी मुख्य चुनौती रहेको बताए । एमविविएस चिकित्सक र विभिन्न प्राविधिकहरुको दरबन्दि कायम गरी सेवा उपलब्ध गराउने गरी भवनहरु निर्माण गरिएको उनले बताए ।
अध्यक्ष खड्काले भवन निर्माण भएर मात्र नहुने भएकाले सेवा सञ्चालनका लागि गाउँपालिकासँग पर्याप्त वजेट नभएको हुँदा सहयोग गरिदिन प्रदेस सरकारलाई आग्रह गरे । जिल्ला अस्पतालकैरुपमा देखिने यी भवन जिल्लाकै स्वास्थ्य चौकीका भवन मध्येका उत्कृष्ट भवन हुन् ।
कार्यक्रममा प्रदेश सांसद बिमल कार्की, अम्बिका थापा, सुनिता चौधरीलगायतले बोलेका थिए ।
सांसदहरुले स्वास्थ्य सेवा बिस्तार र प्रभावकारी बनाउन प्रदेश सरकारको ध्यानाकर्षण गराउने प्रतिवद्धता व्यक्त गरे । उनीहरुले सहर र दुर्गम क्षेत्रलाई फरक फरक ढंगले विश्लेषण गरी स्वास्थ्य सेवा बिस्तार सम्बन्धि नीति निर्माण गरिनेसमेत बताए ।









