एलेक्जेन्ड्रा र कोल्डर १९ महिनाका जुम्ल्याहा हुन्।  तर उनीहरूका बुवा भने एउटै व्यक्ति होइनन्।एलेक्जेन्ड्राका पिता साइमन हुन् भने उनीसँगै जन्मिएका उनका जुम्ल्याहा भाइकोल्डरका पिता ग्रेएम हुन्। तर एउटै गर्भबाट एकैचोटि जन्मिएका सन्तानका भिन्नभिन्न पिता हुनु कसरी सम्भव छ?

पिता बन्ने इच्छा भएका साइमन र ग्रेएम बर्नी-एड्वार्ड्जसमक्ष ठूलो चुनौती थियो।

उनीहरू शरीरबाहिर कृत्रिम परिस्थितिमा ‘इन भिट्रो फर्जिलाइजेशन’बाट एउटा मात्र भ्रूण गर्भाधान गराउन खोज्ने केही ब्रिटिश जोडीमध्येका हुन्। त्यसरी तयार पारिएको भ्रूण सरोगेट आमा बन्न सहमत भएकी एउटी महिलाको कोखमा प्रत्यारोपण गर्नुपर्ने हुन्थ्यो।

त्यो प्रक्रिया लामो र जटिल थियो। सबैभन्दा पहिला त आफ्नो शुक्राणुबाट गर्भाधान गराउन उनीहरूलाई छुट्टाछुट्टै डिम्ब चाहिएको थियो।

पहिला उनीहरू छुट्टै गर्भबाट दुई बच्चा होऊन् भन्ने चाहन्थे। तर उनीहरूलाई डिम्ब दान दिने महिला खोज्न सघाउने संस्थाले एकैचोटि एउटी सरोगेट आमाको गर्भमा दुईवटा बच्चा हुर्काउन मिल्ने जानकारी दियो।

यूकेमा बस्ने भएपनि साइमन र ग्रेएम त्यसका लागि विदेश गए।

साइमन भन्छन्, “हामीसँग नाम नखुलाइएकी अमेरिकी महिला डिम्बदाताका रूपमा थिइन् किनभने प्रजननसम्बन्धी हाम्रो उपचार लास भेगसमा भएको थियो।”

डिम्बहरू सङ्कलन गरेपछि तिनलाई दुई भागमा विभाजित गरियो अनि एउटा भाग साइमनको शुक्राणु र अर्को भाग ग्रेएमको शुक्राणुबाट निषेचन गरियो।

त्यसपछि विकसित भएका भ्रूणलाई छानेर कम तापक्रममा भण्डारण गरियो। दुई समूहबाट छानेर सबैभन्दा पुष्ट भ्रूणलाई सरोगेट आमाको कोखमा राखियो।

तिनै महिलाले आफ्नो कोखमा ती दुई बच्चालाई क्यानडामा हुर्काइन्।

Via: BBC News Nepali

तपाईको प्रतिक्रिया