उदयपुर । आगामी आर्थिक वर्ष २०८२/८३ को लागि त्रियुगा नगरपालिकाको बजेट झण्डै ३८ करोडले घट्यो । संघीय सरकारको अन्तर सरकारी वितीय हस्तान्तरण २०८२/८३ को बजेटमा सुत्रबद्ध रुपमा रकम हस्तान्तरणमा त्रियुगा नगरपालिकाको बजेट १ अर्व ८ करोड ७१ लाख रहेको छ । चालु आव २०८१/८२ मा १ अर्व ४७ करोड २ लाख बजेटको तुलनामा आगामी आवमा ३८ करोड ३१ लाखले घटेको हो ।
समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान र समपुरक अनुदान गरी सरकारले पालिकाहरुलाई एकमुष्ट रकम पठाउने गरेको छ । आगामी आवमा त्रियुगा नगरपालिकाको चालु तर्फ ७६ करोड ४२ लाख र पुँजीगत तर्फ ३२ करोड २९ लाख गरी १ अर्व ८ करोड ७१ पाउने भएको छ ।
आगामी बजेटमा उदयपुरको चार नगरपालिका र चार गाउँपालिका गरी ४ अर्ब २२ करोड २२ लाख बजेट पाएका छन् । चालु तर्फ ३ अर्व ४५ करोड ४ लाख र पुँजीगत प्रकृति तर्फ ७७ करोड १८ लाख गरी ४ अर्व २२ करोड २२ लाख बजेट विनियोजन भएको छ ।
कटारी नगरपालिकाको लागि संघिय सरकारले चालु तर्फ ५३ करोड ५३ लाख र पुँजीगत तर्फ ३ करोड २७ लाख गरी कुल ५६ करोड ८० लाख बजेट छुट्याइएको छ । चालु आवको तुलनामा १ करोड ३८ लाखले बढी हो ।
चौदण्डीगढी नगरपालिकामा चालु तर्फ ४८ करोड ७ लाख र पुँजीगत तर्फ ७ करोड ६ लाख गरी ५५ करोड १३ लाख बजेट पाउने छन् । चालु आवको तुलनामा १ करोड ५८ लाखले बढी हो । बेलका नगरपालिकामा चालु तर्फ ४३ करोड ५७ लाख र पुँजीगत तर्फ ७ करो २६ लाख गरी ५० करोड ८३ लाख बजेट पाउने छन् । चालु आवको तुलनामा १ करोड ३८ लाखले बढी हो ।
यस्तै उदयपुरगढी गाउँपालिकामा चालु तर्फ ४० करोड ११ लाख र पुँजीगत तर्फ ८ करो ७७ लाख गरी ४८ करोड ८८ लाख बजेट पाउने भएको छ । चालु आवको तुलनामा २९ लाखले मात्रै बढी आगामी वर्षको लागि विनियोजन भएको छ ।
भने ताप्ली गाउँपालिकामा चालु तर्फ २५ करोड २ लाख र पुँजीगत तर्फ ४ करोड ५९ लाख बजेट संघिय सरकारबाट पाउनेछन् । चालु आवको तुलनामा आगामी आव ३ करोड ३१ लाखले बढी बजेट पाएको छ ।
रौतामाई गाउँपालिकामा संघिय सरकारबाट चालु तर्फ ३६ करोड ९० लाख र पुँजीगत तर्फ ११ करोड ३९ लाख गरी ४८ करोड २९ लाख बजेट पाउनेछन् । चालु आवको तुलनामा आगामी अवमा ७ करोड ९८ लाख बढी बजेट पाउने छन् ।
लिम्चुङबुङ गाउँपालिकाको बजेट २३ करोड ९७ लाख संघिय सरकारबाट पाउने छन जसमध्ये चालु तर्फ २१ करोड ४२ लाख खर्च गर्न पाउने छन भने पुँजीगत तर्फ २ करोड ५५ लाख खर्च गर्र्न पाउने छन् । चालु आवको तुलनामा आगामी आवमा २ करोड बढी बजेट पाउने छन् ।