उदयपुर – नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष दीपक मलहोत्राले व्यवसायीहरुले बैंकको बढ्दो व्याजदर तिर्ने अवस्थामा नरहेको बताएका छन् । जिल्ला उद्योग वाणिज्य संघ उदयपुरको स्थापना दिवस, प्रथम साधारण सभा तथा अधिवेशनलाई शनिबार सदरमुकाम गाईघाटमा यस्तो बताएका हुन् ।
व्यापार व्यवसाय मन्दी छ, बैंकको व्याजदर बढेको बढै छ यस्तो अवस्थामा व्यवसायीहरुले बैंकको किस्ता तिर्न धौधौ रहेकोले बैंकहरुले समय दिएर साविककै व्याज अनुसार किस्ता तिर्ने वातावरण बनाई दिन नेपाल सरकारसँग माग गरिएको उपाध्यक्ष मलहोत्राले बताए ।
बैंकले अहिले वृद्धि गरेको ब्याजदर तिरेर कुनै व्यवसायीले ऋण तिर्न नसक्ने बताउँदै उपाध्यक्ष मलहोत्राले बैंकहरूले आफ्नो ब्याजदर वृद्धि गर्ने निर्णय फिर्ता नलिए स्थिति अझ भयावह हुने बताए ।
बैंकले पैसा तिर्नको लागि तारन्तार ताकेदा गरिरहेको गरै छ, बैंकले लिलामी निकाल्छु भनेर भनेको भनै छ तर हामीले भनेका छौं मन्दीले लिलामी निकालेपनि लिलामी स्वीकार गर्नेसम्मको अवस्था नरहेकोले सहकारी जस्तै बैंक डुब्ने अवस्थामा नपुर्याउन र बैंकको व्याजदर परिवर्तन गर्नु पर्ने बताए ।
उनले अरु देशको तुलनामा नेपालमा अर्थतन्त्रमा देखापरेको अहिलेको समस्या आर्थिकमन्दी नभएको स्पष्ट पारेका छन् । नेपालको अर्थतन्त्रलाई विदेशको कुनै पनि मन्दीको प्रभाव नपर्ने बताउँदै उनले आफ्नै आन्तरिक नीति र अस्थिर सरकारकै कारणले यो अवस्था सिर्जना भएको ठोकुवा गरे ।
उनले नेपालको अर्थतन्त्र सुधार गर्न नेपालमै लगानी गरेर विदेशमा निर्यात गरेर मात्रै देश समृद्ध बन्न सक्ने बताए ।
प्रदेश १ का सडक पूर्वाधार तथा सहरी विकास मन्त्री दुर्गाप्रसाद चापागाईंले कृषि, पर्यटन र जलविद्युतको क्षेत्रमा लगानी गरेर प्रदेश १ लाई आत्मनिर्भर बनाउने बताए । उनले प्रदेश १ मा विद्युतको उत्पादनको निर्वाहमुखी कृषिलाई व्यवसायी गर्नु पर्नेमा जोड दिनु पर्ने, पर्यटकको हिसावले उदयपुर एकदमै प्रचुर सम्भावना बोकेको जिल्ला रहेकोले यस विषयमा ८३ हजार मेगावाट विजुली मध्ये प्रदेश १ मा ३५ हजार मेगावाट विद्युत उत्पादन गर्ने क्षमता रहेको छ । प्रदेश १ मा विद्युत उत्पादन गर्ने क्षमता मध्ये २२ हजार मेगावाट रिभरसाइडबाट र ७ हजार रिभर स्टोरेजबाट विद्युत उत्पादन गर्ने क्षमता रहेकोले प्रदेश १ पनि विद्यूत उत्पादन गरी विदेश निर्यात गर्न सके ठूलो अर्थतन्त्र भित्र्याउन सक्ने क्षमता राख्ने मन्त्री चापागाइँले बताए ।
समृद्धि विकासको लागि बैंकहरुले पनि त्यतिकै भूमिका खेल्नु पर्ने भएकोले बैंकहरुको चर्को व्याजदरले व्यवसायीहरु मार्कामा परेकोले यस विषयमा बैंक, व्यवसायी र सरकारले सामुहिक रुपमा सोच बदलेर अगाडी बढ्नु पर्ने बताए ।
वर्तमान सरकार कृषि पर्यटन र जलविद्युतमा निजी क्षेत्रलाई लगानी गर्ने वातावरण बनाउन आवश्यक कानुन र पूर्वाधार तयार गर्न तयार रहेकाले ढुक्कसँग लगानी गर्न उद्योगी व्यवसायीलाई अनुरोध गरे ।
कार्यक्रममा उदयपुर जिल्लाबाट निर्वाचित प्रदेश सांसदहरू राजन किराँती, नारायण बुर्जा, सम्झना पाख्रिन, गीतादेवी रेग्मी, निवर्तमान प्रदेश सांसद अम्विका रेग्मी, त्रियुगा नगरपालिका ११ का वडाध्यक्ष सुमन्त कोइराला लगायतले बोलेका थिए ।
जिल्लामा एक पालिका एक उत्पादन र एक वडा एक उत्पादनको निति बनाई लधु उधमीहरुको सृजना गरी व्यवसायी उत्पादनमा जोड दिन तिनै तहको सरकारले ध्यान दिनु पर्ने, स्थानीय स्तरमा उत्पादिन बस्तु तथा सामग्रीको अनिवार्य रुपमा स्थानीय यस्तरमा प्रयोग गरियोस, प्रत्येक पालिकामा औधोगिकग्रामको निती भए पनि कार्यन्वयनमा नआएकोले चाँडै कार्यान्वयनमा आयोस्, अव्यवस्थित बसोबास, ऐलानी जग्गामा विकास निर्माणको सम्पूर्ण प्रक्रिया पुरा भएको छ तर उद्यमी व्यवसायीहरुको व्यवसाय गर्न वडाले सिफासिर नगर्दा उद्योगीहरुमा मारमा परेको छ भने सरकार राजश्व गुमाईरहेकोले यस्तोमा स्थानीय सरकारको ध्यान जानु पर्ने अध्यक्ष कार्कीले बताए ।
यस्तै सहासचिव सुनिल साहले संगाठानिक प्रतिवेदन र कोषाध्यक्ष पंकज गुप्ताले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सो प्रतिवेदन सर्वसम्मतले पास भएको छ । बन्द शत्र आइतबारसम्म चल्ने छ ।