उदयपुर – नेपालकै सवैभन्दा ठूलो सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योग कोइला नहुँदा बन्द छ । अहिले उद्योगसँग मुस्किलले तीन चार दिन पुग्ने कोइला मात्रै स्टक रहेको छ ।

कहिले पार्ट पुर्जा विग्रिदा बन्द हुने कहिले विद्युत नहुँदा बन्द हुने उद्योग अहिले ६ दिनदेखि गुणस्तरहिन थर्ड क्लासको कोइला प्रयोग गर्दा कोल मिल जाम भएर उद्योग बन्द हुन पुगेको छ । कमिशनको खेलमा गुणस्तरहिन बालुवा, माटो र पानी मिश्रणयुक्त कोइला खरिद गरेर ल्याउँदा मेसिन पटक पटक जाम हुँदा अहिले उद्योग नै बन्द हुन पुगेको छ ।

उद्योगले गुणस्तरयुक्त कोइला आयात गर्न नसक्दा उत्पादन नै बन्द गर्नु परेको नाम सार्वजनिक नगरिदिने सर्तमा एक कर्मचारीले जानकारी दिए । कोइलामा समस्या देखियो, उद्योग बन्द भयो, भएको सिमेन्ट विक्री हुन छाड्यो, दशैमा कर्मचारीको विचलित हुने अवस्था रहेको उनले बताए । अव कर्मचारीसँग साहुको ऋण काड्नु बाहेक अरु उपाय नरहेको बताए । साता दिन अघि बालुवा, माटो, पानी मिसिएको गुणस्तरहिन कोइला चेक जाँच विना कोल मिलमा हालियो कोल मिल जाम भएर मिल नै खोलेर मर्मत गर्नु परेको उनले बताए । उनले भने,– “कोइलाको मोइस्चर अर्थात चिसो २ प्रतिशतसम्म लिने प्राबधान छ । २ प्रतिशतसम्म मोइस्चर कोल मिलमा पठाउन मिल्थ्यो तर अहिले १० प्रतिशत मोइस्चर पुर्याएको छ, १० प्रतिशत मोइस्चर पुगेपछि लागातार तीन दिन मेसिनमा पठाइयो र मेसिन जाम भयो ।”

कोइला आपूर्तिमा कमी आउँदा उद्योग चलिरहेको बेला ल्याब चेक जाँच नगरि कोल मिलमा पठाउने गरेको उद्योगका कर्मचारी स्रोतले जानकारी दिए । उनले कोइला राति १२ बाजे सकिन लागेको छ भने कोइला राति १० बजे आइपुगेपछि चेक जाँच गर्नु पर्ने समय नहुँदा राति देखि नै विना चेकजाँच कोल मिलमा कोइला पठाउने गरेको धुव्र सत्य हो । गुणस्तर चेकजाँच कागज जस्तो पनि बन्छ ।

यस विषयमा सिमेन्ट उद्योगका गुणस्तर विभागका एक कर्मचारीलाई सम्पर्क गर्दा कोइलाको गुणस्तर पूर्ण रिपोर्ट आउन कम्तीमा पाँच दिन लाग्छ, पाँच दिन भए पनि २४ घण्टा अनिवार्य हो तर कहिले काही ६–७ घण्टामा पनि एक दुई वटा सामान्य रिपोर्ट दिने गरेको स्वीकार गरेका छन् । उनले कोइलाको गुणस्तर चेकजाँचमा ढिला हुँदा उद्योग बन्द गर्नु भन्दा कहिले काही चेक जाँच नै नगरि कोल मिलमा कोइला पठाएको समेत स्वीकार गरेका छन् ।

गुणस्तरयुक्त कोइला भए प्रतिघण्टा ४ टन कोइला आवश्यक पर्छ भने गुणस्तरहिन कोइला भएर प्रतिघण्टा ५–६ टनसम्म कोइला खपत हुने गरेको छ । उद्योगलाई सरदर दैनिक १०० टन कोइला आवश्यक पर्छ तर कोइला आपूर्ति गर्ने सप्लायर्सले कोइला आपूर्ति गर्न बन्द गरेको छ ।
कोइला अरियन्त सप्लार्य विराटनगर र न्यू आयन सप्लार्य भैरहबाले आपूर्ति गरिरहेको छ । कोइला आपूर्ति गर्ने सप्लायर्सहरुलाई करिव ४० करोड बढी रकम भुक्तानी गर्न बाँकी रहेको कर्मचारी स्रोतले जानकारी दिए । कोइला अहिले आपूर्ति भैरहेको छैन, कोइला आपूर्ति नहुँदा उद्योग बन्द रहेको छ ।

सिमेन्ट उद्योगका अर्का एक कर्मचारीका अनुसार गुणस्तरहिन कोइलाको विषयमा उद्योगका अध्यक्ष, कर्मचारी सवैलाई थाह छ । उद्योगका अध्यक्ष केशव कुमार बस्नेतले गुणस्तरहिन कोइलाको विषयमा सिआरटु मिटिङमै कोइला कहाँ चेक जाँच गर्नु हुन्छ भन्ने प्रश्न गरेका थिए । उनले अध्यक्षलाई उध्रित गर्दै “विना चेकजाँच कोइला कोल मिलमा पठाउने गरेको सन्दर्भमा राम्रो नराम्रो भएपनि भात खाएपछि पैसा तिर्नु पर्छ भनेका थिए । उद्योग अध्यक्ष र महाप्रबन्धक गोपीकृष्ण न्यौपाने विच सिआरटुमै चर्काचर्की परेको थियो ।”

बालुवा पानी मिसिएको कोइला छुट्टै राखेका छौं उदयपुर सिमेन्ट उद्योगका बोर्ड सदस्य लिल बहादुर बस्नेतले जानकारी दिए । उनका अनुसार त्यस बाहेक डेढ ट्रक कोइला मात्रै स्टक छ त्यो पनि फ्याक्ट्री नचलेकोले त्यो फ्याक्ट्री चले एक दुई दिन मै सकिन्छ ।

कोइला गुणस्तरहिनको विषयमा उदयपुर सिमेन्ट उद्योगका महाप्रबन्धक गोपीकृष्ण न्यौपानेसँग बुझन खोज्दा उनले विना चेकजाँच गरि कोइला मिलमा नपठाएको बताए । उनले अहिले कोल मिलको कारण नभएर किल्न मिलको इटा झरेर बन्द गर्नु परेको बताए । उनले अहिले चार सय टन कोइला स्टक रहेको बताए ।

दशैंमा कर्मचारीको विचल्ली

उदयपुर सिमेन्ट उद्योग बन्द र विक्रीमा आएको कमीले गर्दा उद्योगका कर्मचारीहरु नेपालीहरुको प्रमुख चाँड दशैं तिहारमा विचल्ली पर्ने देखिएको छ । दशैं नजिकिएसँगै उद्योगले तलव खुवाउने सुरसार गरेको छैन् । उद्योगसँग अहिले कर्मचारीलाई भुक्तानी गर्ने पैसा समेत नहुँदा कर्मचारीहरु बैंक तथा वितीय संस्था र व्यक्तिगत ऋण खोज्नमा निस्कनु परेको एक कर्मचारीले जानकारी दिए । दशैं खर्च पोषक भत्ता लगायतको खर्च समेत दिन नसक्ने अवस्थामा उद्योग पुगेको छ । यस्तै २०७८ बैशाखदेखि असोज मसान्तसम्म अवकाश पाएका नायव महाप्रबन्धक, निर्देशक देखि हेल्पर र पालेसम्मका कर्मचारीहरु अहिलेसम्म संचित विदा र उपदान वापतको रकम अहिलेसम्म पाएका छैनन् ।

 

तपाईको प्रतिक्रिया