उदयपुर । उदयपुरको उदयपुरगढी गाउँपालिका ७ बतासेका किषकहरु व्यावसायिक बाख्रापालनबाट पछिल्लो समयमा राम्रो आम्दानी गर्दै आएका छन । गाँउपालिकाले प्रधानमन्त्री आधुनिकरण परियोजना अन्तरगत बाख्रा पकेट कार्यक्रम संचालन गरेपछि उनीहरुको बाखा पालनबाट मनग्य आम्दानी लिन सफल भएका हुन ।
विगतमा निर्वाहमुखी बाख्रापालन गर्दै आएका उदयपुरको बतासे गाउँका कृषकहरु अहिले व्यवासायिक बनेका छन । बाबुबाजेका पालादेखि गर्दै आएको स्थानीय जातका बाख्रापालनलाई परिवर्तन गरी उन्नत जातका बाख्रापालन गरेपछि राम्रो आम्दानी हुने गरेको कृषकहरु बताउछन । बाख्रा पालनबाट घरमा नै बसेर पनि बार्षिक ५ लाख सम्म आम्दानी गर्न सफल भएको उदयपुरगढी ७ बतासेका कृषक लालबहादुर खनालको भनाई छ । अहिले ६० वटा माउ बाख्रा छन तर अब सय वटा माउ बाख्रा पुर्याउने लक्ष्य रहेको उनले बताए ।

‘हामीले कुनै पनि पेशा व्यवसाय संचालन गर्दा त्यस क्षेत्रको हावापानी र मौसमले प्रभाव पार्ने भएकाले बतासे गाउँ बाख्रा पालन गर्न उपर्युक्त क्षेत्र रहेको छ ।’ खनालले भने ‘यो ठाउँमा हामी गाँई भैसी पाल्न त सक्छौ तर राम्रो उत्पादन दिदैन त्यसैकारण बाख्राको लागि यो बतासे गाउँ नै उपर्युक्त ठाउ हो ।’

कृषीमा लागेर केही हुदैन भन्नेहरुका लागि प्रेरणाको स्रोत हुने बतासे गाउँलाई बाख्रा पालन गरेर चिनाउने प्रयासमा आफुहरु लागेको वडा सदस्य ईन्द्र बहादुर खनाल बताउछन । अहिले पालिकाको सहयोगमा पकेट कार्यक्रम छ अब त्यसलाई जोन कार्यक्रममा विकसित गरेर कृषी पर्यटनको क्षेत्र भनेर परिचय फेर्ने तयारीमा लागेको खनालको भनाई छ ।

गाँउमै व्यसायिक रुपमा बाख्रा पालन हुन थालेपछि गाँउका युवाहरु विदेश जाने क्रम समेत रोकिएको छ । संयुक्त मिलिजुली बाख्रा पकेट संचालक समिति गठन गरेर दुई बर्ष अघि ४२ घर परिवारले एक हजार वटाबाट सुरु गरेको बाख्रा अहिले १५०० भन्दा बढि पुर्याएको समितिका सचिव ज्ञानेन्द्र मगर बताउछन । पहिले रहेको सुनाखरी कृषी समूह र सुनाखरी कृषी समुहलाई एक समूह बनाएर संयुक्त मिलिजुली बाख्रा पकेट समिति बनाएर खोर निर्माण, बयर बोका खरिद, बयर पाठी खरिद, कृषक तालिम लगाएतका कार्यक्रमहरु समितिमार्फत हुदै आएको सचिव मगरको भनाई छ ।

प्रसस्त डाले घासको उपलब्धता र उपयुक्त हावापानीको साथै पालिकाले समेत उच्च प्राथामिकतामा राखेर सहयोग गरेकाले व्यवासायिक बाख्रापालनमा कृषकहरुको आकर्षण बढ्दै गएको अर्का कृषक नारायण खड्का बताउछन । पालिकाले नियमित प्राविधिक सहयोग पाएकाले पनि विभिन्न रोगबाट संक्रमण र क्षति हुन पाएको छैन । संचार र यातायातको सुविधाले झन सहज भएको कृषकहरुको भनाई । बाख्रा विरामी भयो भने फोनबाट नै समस्या टिपाउने र सामान्य समस्या भए फोनबाट नै समाधान गरिदिने र जटील भए आफै फिल्डमा जाने गरेको उदयपुरगढी गाउँपालिकाका पशु प्राविधिक शेरबहादुर कार्की बताउछन ।

पालिकाले बाख्रा पकेट विकास कार्यक्रम संचालन गरेर कृषकहरुको क्षमता बृद्धि गर्नुको साथै नियमित बाख्रापालन सम्बन्धि तालिम, बाख्राको विमाको साथै उन्नत जातको बोका उपलब्ध गराएर सहयोग गरेको उदयपुरगढी गाउँपालिका कृषी तथा पशुपक्षी विकास शाखाका प्रमुख पारस फुयलले जानकारी दिए । बाख्रापालनबाट रोजगारीको सृजना गनुृको साथै आर्थिक रुपमा कृषकहरुको जीवन स्तरमा समेत सुधार हुने भएकाले सरकारले अझै कृषकहरुमा लगानी बढाउन आवश्यक छ ।

तपाईको प्रतिक्रिया